सुनकोसी नदी फर्काउने ठेकेदारमाथि कारवाही गछौंः उपाध्यक्ष मोक्तान



२४ फागनु, रामेछाप ।
सिन्धुलीको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष दिर्व सिं मोक्क्तानले सुनकोसी नदी फर्काउने खोज्ने ठेकेदारमाथि कारवाही हुने बताएका छन् । सिन्धुलीतर्फ बगिरहेको सुनकोसी नदी रामेछापतर्फ फर्काएकोप्रति खाँडादेवी गाउँपालिकाले आपत्ति जनाएपछि सुनकोसी गाउँपालिकाले पनि चासो देखाएको हो । उपाध्यक्ष मोक्तानले भने,‘हामीे विधि र प्रक्रिया पूरा गरेर एक करोडमा ठेक्का लगाएका हौ, गदी गलत काम भएको पाएमा हामी कानुनी कारवाही गछौं ।’ सुनकोसी नदीभित्र स्काभेटर र डोजर लगाएर उत्खनन गर्न पाइदैन, झन नदीको धार परिर्वतन गर्ने कुरा त सम्भव नै छैन, उनले भने ।

विगतमा पनि नियम विपरीत नदी उत्खनन गर्ने दुई वटा स्काभेटर र चार वटा ट्रिपरलाई कारवाही गरिसकेको बताउदै मोक्तानले भने,‘नदी हाम्रो सम्पत्ति हो, नदी फर्काउने कार्य स्वीकार्य हुन सक्दैन, नदी अहिले जहाँ बगिरहेको छ, दायाँबायाँ गर्न मिल्दैन ।’ उनले नदी पारी पनि सिन्धुलीका बासिन्दाको जग्गामा अहिले नदी बगिरहेको बताए । आधा नदी फर्काएपछि अहिले ठेक्काको जिम्मेवारी पाएको पाएको गतिशिल निर्माण सेवाले अहिले काम स्थगित गरेको छ ।

रातारात नदीको धार परिवर्तन गर्ने काम भएपछि जिल्ला प्रशासन कार्यालय रामेछाप र सिन्धुलीलाई खाँडादेवी गाउँपालिकाले जानकारी गराएको छ । नदी फर्काउन निर्माण सेवाका प्रोपाइटर सुसन चौलागाई र राम बोगटी सक्रिय रहेको बताइएको छ । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका सीमाना मझुवा बगरमा वालुवा व्यापारीले धेरै कमाउने लोभमा नियम विपरीत नदी फर्काउने कार्य अगाडि बढेपछि सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी आभुषण तिमिल्सिनाले रामेछापको खाँडादेवी गाउँपालिकाले नदी फर्काएको बारेमा आफूलाई जानकारी गराएको रामेछाप न्युजलाई बताए । उनले भने,‘दई गाउँपालिकाबीचको समस्या भएकाले हामीले उहाँहरुलाई नै समन्वय गरेर मिलाउन आग्रह गरेका छौ, आवश्यक परेको अवस्था हामी पनि अनुगमनमा जान्छौं ।’

भोली स्थलगत अनुमगन हुने
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले भोली नदी फर्काइएको ठाउँको स्थलगत अनुमगन हुने बताए । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकार, प्रहरी प्रमुख र जिल्ला समन्वय समितिका प्रमुख, दुवै गाउँपालिकाका जनप्रतिनिधि सहितको टोलीले नदी फर्काइएको ठाउँको स्थलगत अनुगन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्