नेपाल गुटको कृत्रिम भेलाबाट पार्टी विचलित हुँदैनः मन्त्री ढुंगेल



४ चैत्र, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले माधव नेपाल गुटले बोलाएको भेलाको कुनै अर्थ नरहेको बताएका छन् । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्ने बेला गुटगत भेला आयोजना गरेर आत्मरतीमा रमाउने काम भएको बताएका हुन् ।  ‘अन्तुष्टि पार्टीको बैठकमा पोख्नु पर्ने, सडकमा पोख्ने काम भएको छ’, मन्त्री ढुंगेलले भने,‘पार्टी अध्यक्षको विरुद्ध जालझेल र षडयन्त्र गर्दै आयोजना गरिएको कृत्रिम भेलाको सरासर गलत छ ।

विगतमा पार्टी अध्यक्ष केपीको विरुद्ध लगाइएको अभियोग पत्र फिर्ता लिन तयार नहुने र आफ्नो अडान कायमै राख्ने प्रवृत्तिले गर्दा समस्या सृजना गरेको बताउदै नेपाल गुटले गल्ती गरेर पनि अध्यक्षसँग गल्तीको महशुस नगरेको बताए । गल्ती गरेपछि आत्मआलोचित हुनुपर्छ, आफ्नै दलको प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाउने खेल महाभूल हो, ढुंगेले भने ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पनि विगतमा नेपाल गुटबाट भएका कमजोरी स्वीकार नगरिएको कारण अहिलेको परिस्थिति आएको बताउदै उनले भने,‘प्रधानमन्त्री ओलीको विरुद्ध नेपाल गुटले लगाएको महाअभियोग कुनै पनि हालतमा पुष्टि हुन सक्दैन ।’

नेपाल गुटको भेलाबाट एमालेका नेता कार्यकर्ता विचलित नहुने बताउदै उनले अध्यक्ष ओलीको नेतृत्वमा अब पार्टी गतिशिल ढुंगले अगाडि बढने दावी गरे । सधै किचलो गरेर मात्र पार्टी अगाडि नबढने बताउदै उनले पार्टीभित्र गलत काम गर्नेमाथि विधि अनुसार कारवाही हुने पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्