डेढ लाख राशीको प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने
११ चैत्र, रामेछाप ।
पर्यटकीय गन्तव्य गाउँको थप विकास र प्रबद्र्धन गर्ने मुख्य उदेश्यको साथ दोरम्बा गाउँपालिकाको दोरम्बामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । सैलुङ्ग खेलकुद विकास समिति दोरम्बा गाउँपालिका–२ दोरम्बाको आयोजनामा दोरम्बा वडाका आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितमा प्रथम हुने टिमको लागि एक लाख ५० हजार, द्धितिय हुने टिमको लागि १ लाख र तृतिय हुने टिमको लागि पचास हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ ।
दोरम्बा गाउँपालिका–१ दोरम्बाका वडा सदस्य एवं सैलुङ्ग खेलकुद विकास समितिको महासचिव रञ्जित मोक्तानले पर्यटकीय गन्तव्य गाउँ दोरम्बाको विकासको लागि फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।उनका अनुसार प्रतियोगितमा भाग लिने टिमले चै त्र २३ गते चार बजेसम्म टिम दर्ता गराउनु पर्नेछ । प्रतियोगिता चैत्र २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।
फुटबल प्रतियोगितको लागि खेलमैदानको समेत स्तरउन्नती गरिएको छ । दोरम्बामा रहेको खेलमैदानलाई क्षेत्रीय स्तरको रंगशालाको रुपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले अगाडि सारेको छ ।दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठ रंगशाला निर्माण गर्नको लागि डिपिआर तयार भइसकेको बताउदै बजेट जुटाउने अभियानमा लागेको बताए ।
