कांग्रेसका नेता जोशीको निधन



१३ चैत्र, काठमाडौं । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो ।

पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । जोशीको निधनप्रति कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं। ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ काँग्रेसका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्