रामेछापमा माओवादीको अभियानः सबै स्थानीय तहमा भेला र प्रशिक्षण



१९ चैत, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापले जिल्लाकै आठ वटै स्थानीय तहमा भेला तथा प्रशिक्षणको अभियान सुरु गरेको छ । जिल्ला कमिटीको बैठकले गरेको निर्णय अनुसार जिल्लाकै सबै पालिकाहरुमा भेला प्रशिक्षण र पार्टी कार्यालय उदघाटनको अभियान सञ्चालन गरेको हो । माओवादी केन्द्रले निर्धारित कार्यक्रम अन्तर्गत भोली गोकुलगंगा गाउँपालिकामा आयोजित भेलालाई प्रतिनिधिसभा सांसद एवं जिल्ला सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी लिुख तामाकोसी गाउँपालिकामा नेता एवं संविधानसभाका सदस्य तारानारायण श्रेष्ठ, दोरम्बा गाउँपालिकामा आयोजित भेलालाई जिल्ला अध्यक्ष मैन कुमार मोक्तान लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मन्थली नगर कमिटीको भेला सम्पन्न गरिसकेको माओवादी केन्द्रले रामेछाप नगर कमिटी र खाँडादेवी गाउँ कमिटीको भेलाको मिति भने तय गरिसकेको छैन् । सुनापती गाउँ कमिटी र उमाकुण्ड गाउँ कमिटीको भेलाको मिति भने तय भइसकेको जिल्ला अध्यक्ष मोक्क्तानले जानकारी दिए । एमालेसँग पार्टी एकता गर्नुअघि साढे पाँच हजार संगठित सदस्य रहेको दावी माओवादी केन्द्रले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्