रामेछापका ३ सय ९१ जना जग्गा धनीले यसै बर्ष मुअब्जा पाउने



२१ चैत, काठमाडौं ।
राष्ट्रिय गौरवको सुनकोसी–मरिन ड्राइभर्सन आयोजनाको काम सुरु भएको छ । खन्न सुरु गरेको २७ महिनाभित्र १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने लक्ष्यको साथ काम अगाडि बढाउन लागिएको हो । सुरुङ निर्माणको लागि निर्माण कम्पनीले निर्माणस्थलमा काम सुरु गर्न पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ । मध्य तराईको जमिनमा सिचाइँ पु¥याउने मुख्य उदेश्य सहित सरकारले उच्च प्राथमिकताको साथ आयोजनाको काम अगाडि बढाएको छ ।

सुनकोशी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीलाई दिएको छ । आयोजना निर्माण गर्न उक्त कम्पनीलाई सरकारले १० अर्ब ५ करोड ६८ लाख ३७ हजार ४६४ रुपैयाँमा ठेक्का दिएको हो ।

सुनकोसी मरिन ड्राइभर्सन आयोजनाका प्रमुख सुशिल आचार्यले सिन्धुलीतर्फ १९.६ हेक्टर जमिनको मुअब्जा वितरणको काम करिब सम्पन्न भइसकेको बताए । उनले रामेछापतर्फको २९.८ हेक्टर जमिन रोक्का राखेर मुअब्जा वितरण गर्न मुल्याडकन समिति माफर्त काम भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार रामेछापमा ३ सय ९१ जना जग्गा धनीले मुअब्जा पाउने छन भने नौ वटा घर टहरा डुबानमा पर्नेछ । उनले यस बर्षभित्र प्रभावित बासिन्दालाई मुअब्जा वितरण गरिसक्ने लक्ष्यको साथ काम भइरहेको बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले आयोजना प्रभावित बासिन्दहरुलाई मुअब्जा दिनको लागि उपसमितिले मुल्याङकनको काम गरिरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘छिटो भन्दा छिटो मुल्याङकनको काम सम्पन्न गरेर मुअब्जा वितरणको प्रक्रिया अगाडि बढाउछौं ।’

प्रतिक्रिया दिनुहोस्