रामेछापका तीन जना जेल चलान



३० चैत, काठमाडौं ।
युरेनियम लुकाएर राखेको आरोपमा पक्राउ परेका रामेछापका तीन जना पुर्पक्षको लागि जेल चलान भएका छन् । रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा २५ वर्षदेखि लुकाएर राखिएको युरेनियमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जिल्ला अदालत काठमाडौंले जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र रामेछापका प्रकाश चौहानलाई थुनामा पठाएको छ । अदालतको आदेशले उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कारोबारमा संलग्न भनिएका सिन्धुलीका मनोज न्यौपानेलाई अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । २ लाख धरौटी बुझाएर उनी रिहा भएका छन् । २ केजी युरेनियम बेच्न खोज्ने ४ जनालाई महानगरीय प्रहरी कार्यालयको टोलीले फागुन २८ मा पक्रेर अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्