रामेछापको दुई खानेपानी आयोजनाको लागि ७ करोड बजेट सुनिश्चित



७ वैशाक, रामेछाप ।
मन्थली नगरपालिकाभित्र दुई वटा लिफ्ट खानेपानी आयोजनाको लागि संघीय ७ करोड बजेटको सुनिश्चितता भएको छ । बागमती प्रदेशको माग बमोजिम अर्थ मन्त्रालयले गेलु लिफ्ट खानेपानी आयोजना र तामाकोसी नागिला लिफ्ट खानेपानी आयोजनाको बजेट सुनिश्चित गरेको हो ।
खानेपानी आयोजना अगाडि बढाउनको लागि खानेपानी मन्त्री मणि थापा, रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठ र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको विशेष पहलमा दुई वटा खानेपानी आयोजना यसै आर्थिक बर्षबाट अगाडि बढन लागेको छ । बजेट विनियोजन भएर पनि दुई बर्षदेखि कार्यान्वयन हुन नसकेको दुई खानेपानी आयोजनाको लागि बजेटको सुनिश्चितता भएसँगै गेलुवासी खुसी भएका छन् ।

गेलु लिफ्ट खानेपानीको लागि ४ करोड र नागिला लिफ्ट खानेपानीको लागि ३ करोड रकम सुनिश्चित भएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । उनले बर्षौदेखि गेलुवासीले भोग्दै आएको खानेपानीको समस्याको समाधान हुने बताए ।

खानेपानी आयोजना अगाडि बढाउनको लागि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल, एमालेका नेता रत्न गौतम, वडा अध्यक्ष कृष्णहरि अधिकारी, प्रकाश कुमार कार्की, सागरहरि अधिकारीले पहल गरेका थिए ।
अर्थ मन्त्रालयको शाखा अधिकृत इन्दिरा दाहालद्धारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ–दुवै लिफ्ट खानेपानी आयोजनहरु केन्द्रीय खानेपानी आयोजनाबाट हटाई प्रदेश सरकार मार्फत कार्यान्वयन हुने निर्णय भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशबाट माग भएको थप बजेटको सीमा ननाघ्ने गरी ७ करोड थप बजेट वित्तीय हस्तान्तरणका लागि अनुरोध भइ आएको विषय पेश हुँदा संघीय आयोजनाको रुपमा रहेका दुई आयोजनालाई प्रदेशमा हस्तान्तरण गर्न र सोही आयोजनामा विनियोजित रकमबाट ७ करोड सम्म खरिद प्रक्रिया अगाडि बढाई कार्य प्रगतिका आधारमा उपुरोक्त सीमा भित्रको रकम सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण गर्ने मिति २०७७।१२।३० मा अथ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको व्यहोरा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्