ठडियो ऐतिहासिक धरहरा, प्रधानमन्त्री ओलीद्धारा उदघाटन (फोटोफिचर)



११ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित ऐतिहासिक धरहराको उदघाटन गरेका छन् । उनले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताए । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बाए ।

इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ, उनले भने ।

विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ । धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनले प्रतिबद्धता व्यक्त गरे । धरहरा ३ अर्ब ४६ करोड लागतमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्