कोरोना संक्रमणको जोखिममा रामेछाप,के गर्दैछ स्थानीय सरकार ?



१७ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ । काठमाडौं उपत्यकामा दुई साता लकडाउन गर्ने निर्णयसँगै दुई दिनको अवधिमा झण्डै १८ हजार भन्दा बढी नागरिकहरु जिल्ला भित्रिएका छन् । कोरोनाको उच्च जोखिम रहेको काठमाडौं उपत्यकाबाट आफ्नो घरफर्किएकाहरु अहिले पनि गाउँगाउँमा निर्धक्क भएर हिडडुल गरिरहेका छन् ।

सदरमुकाम मन्थलीसहित रामेछाप नगरपालिकाको बजार क्षेत्रमा भिडभाड घटन सकेको छैन् । २५ जना भन्दा बढी हुन नपाउने भएपछि जिल्लाभित्र सभा सम्मेलनको कार्यक्रम स्थगित भएपनि बजार क्षेत्रमा हुने भिडभाडमा खासै कमी आउन सकिरहेको छैन् । मास्कको अनिवार्य प्रयोगको लागि जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा अभियान नै चलाएको छ । काठमाडौंबाट जिल्ला फर्किएकाहरु निर्धक्क भएर हिडडुल गर्दा कोरोना फैलिन जोखिम भएको भन्दै चिन्ता थपिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले मास्कको अनिवार्य लगाउने जनचेतानमूलक अभियान नै सञ्चालन गरिएको बताउछन । उनले रामेछाप न्युजसँग भने,‘मास्क नलगाउनेलाई अब पक्राउ गरेर कारवाही गछौं ।’काठमाडौंबाट जिल्ला फर्किएकाहरुको व्यस्थापनमा स्थानीय सरकारले पर्याप्त रुपमा ध्यान दिन नसकेको बताइएको छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले काठमाडौंबाट गाउँपालिकाभित्र आएका नागरिकहरुलाई १४ दिन अनिवार्य रुपमा होम हाइसोलेसनमा बस्न आग्रह गरेको बताउछन । उनले भने,‘सबै जिम्मेवार बने मात्र कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’ उनका अनुसार गाउँपालिकाले विद्यालयहरु सबै बन्द गर्ने निर्णय गरिसकेको र परिस्थिति हेरेर सीमा नाकामा कडाई गरिनेछ ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिका प्रवेशमा कडाई गरिएको बताउछन । उनले सीमा नाका हेल्प डेक्स स्थापना गरेर चेकजाँचलाई कडाई गरिएको बताउदै काठमाडौं लगायत विदेशबाट गाउँ फर्किएकाहरुलाई होम हाइसोलेसनमा बस्न आग्रह गरिएको बताए ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले सीमा नाकालाई व्यवस्थित गरिने कार्यमा लागिएको बताए । उनले कोरोना नियन्त्रण र रोकथामको लागि नागरिकहरु जिम्मेवार बन्नु पर्नेमा जोड दिदै आवश्यक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापनमा आफूहरु लागि परेको बताए ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाभित्र प्रवेश गर्नुअघि सेलेघाटमा हेल्प डेक्स मार्फत स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइने बताउछन । उनले नगरपालिकाभित्र रहेको आइसोलेसन र क्वारेन्टिनको वेड संख्या बढाउन तयारी गरिरहेको बताउदै बजार क्षेत्रमा अनावश्यक रुपमा हिडडुल नगर्न पनि आग्रह गरे ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले मास्कको अनिवार्य प्रयोग गर्नको लागि बजार क्षेत्रमा अभियान नै सञ्चालन गरिएको रामेछाप न्युजलाई बताए ।

रामेछाप जिल्लामा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङक अनुसार आज दुई जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार संक्रमित २७ जना मध्य २५ जना होम आइसोलेसनमा र २ जना जिल्ला अस्पतालको आइसोलेनमा रहेको जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनका अनुसार
हालसम्म रामेछापमा २५२ जनामा कोरोना संक्रमण भएकोमा २२५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्