रामेछापमा ३२ वटा एम्बुलेन्स तयारी अवस्थामा (सम्पर्क नम्बरसहित)



१८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा ३२ वटा एम्बुलेन्स र तीन वटा शवबहान तयारी अवस्थामा राखिएको छ । जिल्लाभित्र कोरोना संक्रमितलाई थप उपचार गर्नको लागि राजधानी काठमाडौंसहित विभिन्न अस्पतालमा लैजान एम्बुलेन्स तयारी अवस्थामा राखिएको हो ।
वैशाख १६ गते रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले एम्बुलेन्स र शववहानलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । जिल्लाभित्र रहेको एम्बुलेन्स र शव वहानलाई समन्वय गर्नको लागि जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरिएको प्रजिअ सैजूले रामेछाप न्युजलाई बताए ।

रामेछाप जिल्लामा मन्थली नगरपालिकामा ८ वटा एम्बुलेन्स र १ वटा शवबहान रहेको छ भने रामेछाप नगरपालिकामा ५ वटा एम्बुलेन्स १ वटा एम्बुलेन्स रहेको छ । त्यसैगरी सुनापति गाउँपालिकामा चार वटा एम्बुलेन्स र एउटा शव बहान रहेको छ । गाउँपालिकाले रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठको पूर्वाधार कार्यक्रम अन्तर्गत यस बर्ष शवबहान र एम्बुलेन्स खरिद गरेको हो ।

त्यसैगरी दोरम्बा गाउँपालिकाले पनि कोरोना महामारी फैलिएसँगै यस बर्ष नै एउटा सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरेको छ । यसअघि गाउँपालिकामा वडा नम्बर ६ मा एउटा एम्बुलेन्स सञ्चालनमा रहेको थियो । योसँगै दोरम्बा गाउँपालिकामा दुई वटा एम्बुलेन्स रहेका छन् । गाउँपालिकाले खरिद गरेको नयाँ एम्बुलेन्स भने केही दिनपछि सञ्चालन हुनेछ । त्यसैगरी खाँडादेवी गाउँपालिमा भने ३ वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ ।

जिल्लाको लिखु तामाकोसी गाउँपालिकामा २ वटा, गोकुलगंगा गाउँपालिमा ४ वटा र उमाकुण्ड गाउँपालिमा ४ वटा एम्बुलेन्स रहेका छन् ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आठ वटै स्थानीय तहसँग समन्वय गरेर हाल भएका एम्बुलेन्स र शव बहानलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको रामेछाप न्युजलाई बताए ।
जिल्लामा हाल ३२ वटा एम्बुलेन्स र तीन वटा शव बहान तयारी अवस्थामा राखिएको छ । हाल सञ्चालनमा रहेका केही एम्बुलेन्स भने मर्मत क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्