नेपालमा अहिलेसम्मकै धेरै ५७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि



१८ वैशाख, काठमाडौं ।
नेपालमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् । काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ मा पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन् ।
नेपालमा हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।

पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्