विकास बजेट कटौती गरेर पनि जनता बचाउँछौः मन्त्री ढुंगेल



२० वैशाख, रामेछाप ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कोरोनाबाट नागरिकलाई बचाउन सरकार लागि परेको बताएका छन् । उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले काम गरिरहेको बताउदै आवश्यक परेको अवस्थामा विकास बजेट कटौती गरेर पनि नागरिकको उपचारमा खर्च गरिने बताएका हुन् ।

उनले भने,‘सरकारको पहिलो काम कोरोनाबाट संक्रमित बनेका नागरिकहरुको उपचार हो, विकास त पछि पनि गर्न सकिन्छ, हाम्रो पहिलो प्राथमिकतामा नागरिकहरुको जीवन बचाउनु हो ।’प्रदेशभित्र यसअघि पनि अस्पतालको स्तरउन्नती गर्नेदेखि आवश्यक बजेटको साथै जनशक्ति व्यवस्थापन गर्ने काम भएको बताउदै उनले सरकारले अस्पतालको वेड थप्ने विषयमा पनि गृहकार्य गरिरहेको बताए ।

‘सरकारको सम्पूर्ण ध्यान कारोना नियन्त्रण र रोकथाममा रहेको छ’, मन्त्री ढुंगेले भने,‘अहिले हरेक नागरिक जिम्मेवार बनेर सबैले आ–आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने बेला आएको छ ।’उनले कोरोना नियन्त्रण र रोकथाममा सरकारको एक्लो प्रयासले मात्र सम्भव नहुने बताउदै सबै नागरिकहरुको साथ र सहयोग भएको अवस्थामा कोरोना विरुद्धको लडाइँ जित्न सकिने बताए ।

अहिलेको अवस्थामा सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताउदै मन्त्री ढुंगेलले सरकारलाई गाली गर्नेतिर भन्दा पनि नागकिरहरुले आफ्नो जिम्मेवारी पनि पूरा गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्