एमाले रामेछापले बागमती प्रदेश सरकारलाई पठायो पाँच बुँदे ध्यानाकर्षण पत्र (पत्रसहित)



२० वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापले जिल्लाभित्र कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि तत्काल गर्नुपर्ने कामको बारेमा बागमती प्रदेश सरकारलाई ध्यानकर्षण पत्र पठाएको छ । कोरोना संक्रमितको संख्या बढिरहेको र अझै बढन सक्ने भएकाले आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गर्दै पत्र लेखेको हो ।

नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले लेखेको ध्यानाकर्षण पत्रमा पाँच वटा काम तत्काल गर्नु पर्ने माग गरिएको छ । पत्रमा जिल्लाभित्र अक्सिजन ग्यास सिलिन्डिर मौजाद रहेको तर बढदो संक्रमणसँगै भविष्यमा अपुन हुनसक्ने देखिएकाले थप अक्सिजन ग्यास सिलिन्डिरको व्यवस्थापन गर्नुपर्ने,हाल जिल्लामा भएको स्वास्थ्यकर्मीको संख्या कमी भएकाले तत्काल व्यवस्था गर्नुपर्ने,भेन्टिलेटर सहितको थप आइसोलेसन कक्षहरुको संख्या बृद्धि गर्नुपर्ने, स्वाब संकलन गरी पिसीआर परीक्षणलाई तीब्रता दिनुपर्ने र एम्बुलेन्स सहित अन्य सवारी साधनलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनु पर्ने माग गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदमा पठाइएको पत्रको बोधार्थ आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा समेत पठाइएको छ ।नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले कोरोना नियन्त्रण र रोकथामको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्लाभरका नेता कार्यकर्ता परिचालन गरिएको बताए । उनले जिल्ला प्रशासन कार्यालय रामेछापले आजबाट लागू गर्न लागेको निषेधआज्ञा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्