लुभुघाटमा प्रहरी चौकी बनाउन माझी समुदायले दिए निशुल्क जग्गा
२० वैशाख, रामेछाप ।
रामेछाप प्रवेश गर्ने मध्यको प्रमुख नाका लुभघाटमा प्रहरी चौकी निर्माण गर्नको लागि स्थानीयले एक रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । प्रहरी कार्यालयको जग्गा नहुँदा हाल लुभुघाटमा भाडाको घरमा प्रहरी कार्यालय सञ्चालन हुँदै आएको छ ।
खाँडादेवी गाउँपालिका–१ र सुनापती गाउँपालिका–५ खनियापनीको सीमानामा रहेको लुभुघाटमा स्थानीय माझी समुदायले निशुल्क जग्गा दिएका हुन् । प्रहरी कार्यालय बनाउन अहिलेको प्रावधान अनुसार पहिला आफ्नो नाममा जग्गा रहेको हुनुपर्नेछ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले स्थानीयले जग्गा दिएर प्रहरी कार्यालय बनाउन ठूलो सहयोग गरेको बताए ।
लुभुघाट बजारमा प्रहरीको चौकी भवन बनाउन स्थानीय थलमान मोहन कुमार माझी, खड्ग बहादुर माझी, पुर्ण बहादुर माझी, धनवीर माझी, वीर बहादुर र शिर बहादुर माझीले एक रोपनी जग्गा निशुल्क रुपमा दिएका हुन् ।
आठ भाइ मिलेर दिवंगत आमा फुलमाया माझी र कृष्णमाया माझी तथा डण्डे माझीको स्मरणमा जग्गा दान दिएका हुन् । माझी परिवारले आफुहरुले प्रहरी चौकी लुभुघाटलाई सहयोग गरेको जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानालाई हस्तान्तरण गरेका छन् ।
स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएर ठूलो सहयोग गरेको डिएसपी ढुंगानाले बताए । उनले प्रहरीप्रति भरोसा र विश्वास गरेर कार्यालय भवन बनाउन जग्गा दिने दाताहरुलाई धन्यवाद दिएका छन् ।प्रहरीचौकी लुभुघाटस्थित माझी बस्तीसँगै रहेको जग्गा खाँडादेवी गाउँपालिकाले सम्याइदिने र बजेटको व्यवस्था गरेर छिटै नै भवन बनाउन पहल गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले गरेको छ ।
