बागमती प्रदेश सरकारको निर्णय, अनलाइनबाटै सवारीको नविकरण र राजश्व भुक्तानी गर्न सकिने



२० वैशाख, हेटौडा ।

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको यातायात सेवा विद्युतीय माध्यमबाट प्रवाह गर्ने र राजश्व भुक्तानी गर्ने सम्बन्धी नियमावली २०७८ लाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नियमावली २०७८ लाई स्वीकृती गरेको बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

नियमावली स्वीकृत भएसँगै यसले नागरिक एप्सको प्रयोगका लागि सरिलीकृत गरेको छ । अब नागरिक एप्सको प्रयोगले समय र श्रम दुबैको बचत गराउन मद्दत पुग्नेछ । प्रवक्ता ढुंगेलले अब यातायात कार्यलयमा हुने भिडभाड अन्त्य हुनुको साथ घरमै बसेर नागरिकहरुले सेवा पाउने अवस्था सृजना गरेको बताए ।

यसैगरी उक्त बैठकले भीआरसीअन्तर्गत ट्रान्स्पोट विकाससम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गर्ने निर्णय छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशको पाँच वटा जिल्ला अस्पताल र दुई वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई उपचार सेवामा निरन्तरता दिन आवश्यक बजेट यथाशीध्र उपलब्ध गराउने र भेन्टिलेटर, आईसीयू कक्ष स्थापना गर्नुको साथै आइसोलेसन कक्षहरु स्थापना गर्नेतर्फ उच्च प्राथमिकताका साथ कार्यान्वय गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब ७५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्