रामेछापका कोरोना संक्रमितको ज्यान बचाउन प्रहरीले थाल्यो अभियान



२८ वैशाख, रामेछाप ।
कोरोना संक्रमित बिरामीले समयमा नै अक्सिजन नपाउदा ज्यान गुमाइरहेका छन् । रामेछाप जिल्लामा पनि पछिल्लो साता कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । दोस्रो लहर अन्तर्गत आजसम्म जिल्लामा १ सय ५३ जना संक्रमित भएका छन् ।

रामेछापको अधिकाशं स्थानीय तहमा धमाधम कोरोना संक्रमित बढन थालेका छन् । अक्सिजन सिलिन्डिरको अभावमा संक्रमितहरुले जीवन गुमाउन नपरोस भनेर जिल्ला प्रहरी कार्यालय रामेछापले बजार क्षेत्रको विभिन्न उद्योगमा रहेको अक्सिजन सिलिन्डर संकलन गर्ने अभियान अगाडि बढाएको छ ।

प्रहरीले संकलन गरेको २४ वटा अक्सिजन सिलिन्डर मध्य आज १५ वटा सिलिन्डर जिल्ला अस्पताल रामेछापलाई बुझाएको छ । संकलन गरिएको सिलिन्डिर जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले आज अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।


त्यसैगरी प्रहरीले आज रामेछापको विभिन्न मोटर पार्टस, गृल उद्योग, ग्यारेजबाट संकलन गरेको २४ वटा सिलिन्डिर मध्य नौ वटा भने बुझाउने क्रममा रहेको बताएको छ । डिएसपी ढुंगानाले यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न आग्रह गर्दै विभिन्न कम्पनी संघ संस्था एवं व्यक्तिहरुसँग आवश्यकता भन्दा बढी सिलिन्डिर भए प्रहरीलाई उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डिर कोरोना सामान्य भएपछि सम्बन्धित उद्योग र व्यक्तिलाई बुझाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्