मन्थली बजारमा कोरोनाको संक्रमित बढदा चिन्तित छौः नगरप्रमुख बस्नेत



२९ वैशाख, रामेछाप ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि उच्च जोखिममा परेको बताएका छन् । संक्रमण फैलिन नदिन लकडाउन गरेपनि नागरिक अझै बलमिच्याइँ गरेर बजार क्षेत्रमा हिड्न नछोडेको बताउदै उनले बजार क्षेत्रमा झण्डै ७० प्रतिशतमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको बताएका हुन् ।

उनले जारी लकडाउनलाई आजबाट थप कडाई गर्न प्रशासनलाई आग्रह गरेको बताउदै यतिबेला मन्थली नगरपालिकाका हरेक नागरिक जिम्मेवार बन्नु पर्नेमा जोड दिए । नगरप्रमुख बस्नेतले रामेछाप न्युजसँग भने,‘परिस्थिति जटिल बन्दै गएको छ, हामीसँग भएको १८ वटा आइसोलेसन बेड र १६ वटा अक्सिजन सिलिन्डिर तयारी अवस्थामा राखेका छौ, जटिल बिरामी बाहेक अधिकाशं संक्रमित होम आइसोलेसनमा रहेका छौं ।’

सीमित स्रोत र साधनको बीच पनि काम गरिरहेको बताउदै बजार क्षेत्रमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्ने काम नागरिकको सहयोगले मात्र सम्भव रहेको बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सबैलाई पिसिआर परीक्षण गरिएको बताउदै उनले भने,‘पिसिआर परीक्षण गराएका ७० प्रतिशतमा संक्रमण देखिदा हामी चिन्तित छौं ।’ मन्थली गरपालिकामा मात्र कोरोनाको दोस्रो लहर अन्तर्गत १ सय ६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय रामेछाप जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्