रामेछापमा निधन भएका कोरोना संक्रमित पकुवालको शव नेपाली सेनाद्धारा व्यवस्थापन (फोटोफिचर)



३१ वैशाख, रामेछाप ।
रामेछापमा कोरोना संक्रमणबाट मृत्यु भएका सुनापति गाउँपालिका–२ आलमपुरका ६३ बर्षिय माधव प्रसाद पकुवालको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । जिल्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि नयाँ गोरख गणबाट खटिएको नेपाली सेनाको तालिम प्राप्त टोलीले शव व्यवस्थापन गरेको हो ।

आज बिहान कोरोना संक्रमणको कारण पकुवालकाे मृत्यु भएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै शवको व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जिल्ला सुरक्षा समितिको निर्णयसँगै नेपाली सेनाबाट खटिएका तालिम प्राप्त टाेलीले मन्थली नगरपालिकाको रणजोर दोभानमा पकुवालको शव व्यवस्थापन गरेका हुन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जिल्लामा कोरोनाबाट मृत्यु हुने पहिलो घटना भएको बताए । उनका अनुसार आगामी दिनमा पनि कोरोनाबाट निधन भएकाहरुको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने रामेछाप न्युजलाई बताए ।

नयाँ गोरख गणबाट खटिएका तालिम प्राप्त नेपाली सेनाको टोलीले सलामी सहित पकुवालको शव व्यवस्थापन गरेको हो । रामेछापमा कोरोनाबाट एक व्यक्तिको उपचारको क्रममा निधन भएसँगै जिल्लावासीमा थप चिन्ता थपिएको छ । रामेछापमा जिल्लामा कोरोनाको दोस्रो लहर अन्तर्गत हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय ६६ जना पुगेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्