रामेछापका कोरोना संक्रमित बचाउने आशा पलायोः डा.कर्माचार्य



४ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको तामाकोसी अस्पतालमा पहिलो पटक स्थापना गरिएको तीन वेडको आइसीयू पूर्ण रुपमा सञ्चालनमा नआउने भएको छ । आइसीयू सञ्चालन गर्नको लागि विशषेज्ञ डाक्टरसहितको दक्ष जनशक्ति नहुँदा पूर्ण रुपमा सञ्चालनमा आउन नसक्ने भएको हो । तर कोरोना संक्रमितसँगै जिल्लाभित्र गम्भीर बिरामीलाई बचाउन भने उक्त आइसीयूले सहयोग गर्ने भएको छ ।

तामाकोसी अस्पतालका डा. सुमन कर्माचार्यले अस्पतालमा स्थापना गरिएको तीन वटा आइसीयू वेड मार्फत नयाँ आशा पलाएको रामेछाप न्युजलाई बताए । उनले अस्पतालमा आइसीयू सञ्चालनको लागि दक्ष जनशक्ति नभएको कारण आइसीयूलाई आधा मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको बताए । ‘अस्पतालमा अहिलेको भएको जनशक्तिले पूर्णरुपमा आइसीयू सञ्चालन गर्न सक्दैन’, उनले भने,‘गम्भीर बिरामीलाई अक्सिजन मार्फत बचाउन सकिने सम्भावना भने बढेको छ ।’

गम्भीर बिरामीलाई जिल्लाभित्र यसअघि दुई लिटर मात्र अक्सिजन दिन सकिने अवस्था रहेकाे र  आइसीयू स्थापना भएपछि १५ लिटरसम्म अक्सिजन दिन सकिने डा. कर्माचार्यले बताए । गम्भीर बिरामीलाई भेन्टिलेरमा लैजानु अघि आइसीयूमा उपचार गरिने बताउदै  उनले अहिले स्थापना भएको आइसीयू पूर्ण रुपमा सञ्चालन गर्न  सकिने अवस्था नरहेकाे बताए ।

गम्भीर बिरामीले आफै अक्सिजन तान्न नसकेपछि आइसीयूमा रहेकाे  पाइप मार्फत फोक्सोमा अक्सिजन पुर्याउने बताउदै डा. कर्माचार्यले तत्कालको लागि दक्ष जनशक्तिको अभावमा पाइप मार्फत अक्सिजन दिन नसकिने बताए । उनले अहिले कोरोना संक्रमित गम्भीर बिरामीलाई अक्सिजनको समस्या देखिएकाले केही मात्रामा भएपनि आइसीयू वेड स्थापना भएपछि राहत भएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्