रामेछापमा लकडाउनपछि २५ सय बढी नागरिक भित्रिए



६ जेठ, रामेछाप ।
रामेछापमा लकडाउन घोषणा भएकाे यस अवधिमा  २५ सय ३७ जना नागरिकहरु जिल्ला भित्रिएका छन् । जिल्ला प्रवेश गर्ने नागरिकलाई सम्बन्धित गाउँपालिका र वडा कार्यालय होम आइसोलेसनमा राख्ने जिम्मेवारीसहितको सिफारिसमा मात्र नाकाबाट प्रवेश दिइने गरेको छ ।

रामेछाप जिल्लामा अहिले कोरोनाको संक्रमण उच्च भइरहेको बेला दैनिक रुपमा विभिन्न समस्याको कारण नागरिक जिल्ला फर्किने गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रमुख नाकाहरुमा चेकजाँच कडाई गरेको छ । अहिले रामेछापका विभिन्न नाकाबाट गरी दैनिक  करिब वीस जनासम्म प्रवेश गर्ने गरेका छन् । तर प्रवेश नाकामा सम्बन्धित वडा कार्यालयले जिल्ला प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा होम आइसोलेसनमा राख्ने लिखित पत्र पठाएपछि मात्र घर जान पाउने नियम कडााईपूर्वक लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले जिल्ला आउने नागरिकको लागि सम्बन्धित पालिका र वडा कार्यालयले होम आइसोलेसनमा राख्ने जिम्मेवारी लिएपछि मात्र प्रवेश गर्न दिने गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘यो हाम्रो रहर होइन, जिल्लाभित्र पनि संक्रमणको दर बढदै गएको छ, बाहिरबाट जिल्ला प्रवेश गर्नेहरु होम आइसोलेसनमा बसेको अवस्थामा संक्रमण फैलिदैन, हामीले जिल्लाको सबै नाकामा कडाई गरेका छौं ।’

रामेछापमा कोरोना संक्रमितको संख्या बढदै गएपछि वैशाख १६ गतेदेखि जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउन घोषणा गरेको थियो । जारी लकडाउनलाई थप कडाई गरिदै लगिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ । रामेछाप जिल्लामा कोरोनाको दोस्रो लहर अन्तर्गत हालसम्म ३ सय ५५ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्