स्वास्थ्य सामाग्री चेकजाँच गरेर मात्र स्वीकार गर्न स्वास्थ्य कार्यालय रामेछापको पत्राचार



१४ जेठ, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै जाँदा स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने सहयोगी हातहरु पनि बढदै गएको छ । रामेछाप जिल्लामा आइसीयू वेड स्थापना गर्नेदेखि अक्सिजन सिलिन्डर सहयोग गर्ने दाताहरु बढेका छन् । राजनीतिक दल र संघ संस्थाहरु स्वास्थ्य सामाग्री हन्तान्तरण गर्ने कामलाई अगाडि बढाइरहेका छन् ।

संकटको बेला जिल्लावासीको सहयोग गर्नु सराहनिय काम भएपनि नागरिकको स्वास्थ्यसँग जोडिएको स्वास्थ्य सामाग्री गुणस्तरीय छ कि छैन भन्ने चेकजाँच भने जिल्लामा हुने गरेका छैन् । दिनप्रतिदिन स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने बढेसँगै स्वास्थ्य सामाग्रीको गुणस्तर चेकजाँच गरेर मात्र ग्रहण गर्न स्वास्थ्य कार्यालय रामेछापले जिल्लाभित्रका अस्पताल र आठवटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

रामेछापमा अहिले सेनिटाइजर, मास्क पिपिइई, औषधी लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण हुने क्रम बढेको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले स्वास्थ्य सामाग्री हन्तान्तरण कार्यक्रममा पनि सीमित व्यक्तिहरु मात्र सहभागी हुन आग्रह गरेका छन् । उनले रामेछाप न्युजसँग भने,‘जिल्लाभित्र कोरोना संक्रमण तीब्र गतिमा अगाडि बढेको छ, सहयोगको खाँचो छ, सहयोग हस्तान्तरण गर्दा सकेसम्म थोरै व्यक्तिहरुको मात्र सहभागीता होस ।’

स्वास्थ्य कार्यालय रामेछापद्धारा स्थानीय तहलाई गरिएको पत्राचारमा भनिएको छ–कोरोना महामारी निदानुदिन बढदै गएको विषम परिस्थितिमा विभिन्न दातृ निकाय सहयोगी संघ संस्था र व्यक्तिहरुबाट सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामाग्रीहरु सरकारबाट सुचिकृत तथा अनुमति प्राप्त भए नभएको सुनिश्चित गरी मात्र स्वीकार तथा प्रयोग गर्न अनुरोध गर्दछु ।

स्वास्थ्य कर्याालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णद्धारा जारी पत्रको बोधार्थ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र जिल्ला प्रशासन कार्यालय रामेछापलाई पठाइएको छ ।स्वास्थ्य सामाग्रीहरु मापदण्ड विपरीत भएको अवस्थामा नागरिकको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापा बताउछन । उनले रामेछाप न्युजसँग भने,‘सहयोगी हातहरु बढनु खुसीको कुरा हो । तर यो पनि विर्सनु हुँदैन, नागरिकहरुले प्रयोग गर्ने स्वास्थ्य सामाग्री गुणस्तर छ कि चेकजाँच गर्नु अनिवार्य छ ।’

हालसम्म जिल्लाभित्र वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुको गुणस्तर चेकजाँच नगरी स्वीकार गरिने गरेको छ । सहयोगी दाताहरुले दिएको स्वास्थ्य सामाग्री न त स्थानीय तहले गुणस्तरमा ध्यान दिएका न त जिल्ला प्रशासन कार्यालयले नै एकद्धारा नीतिबाट अगाडि बढाउन जाँगर देखाएको छ ।

सरोकारवाला निकायहरुले सहयोग गर्ने दाताहरुले गरेको सहयोगलाई सम्मान गर्दै गुणस्तर चेकजाँचको पक्षलाई विर्सन नहुनमा जोड दिदै आएका छन् । रामेछाप जिल्लाका मेडिकलहरुमा समेत अवैध सेनिटाइज र मापदण्ड विपरीतका मास्कको विक्रिवितरण हुँदै आएको छ । केही दिनअघि मात्र मन्थलीमा अवैध रुपमा विक्रि गरिदै आएको सतरी वटा सेनिटाइजर प्रहरीले बरामत गरेर नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्