कोरोना संक्रमितको जीवन बचाउन अहोरात्र खटिएका रामेछाप अस्पतालका स्वास्थ्यकर्मी (फोटोफिचर)



१५ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोनाको दोस्रो लहर अन्तर्गत हालसम्म जिल्लामा एक हजार भन्दामा कोरोना संक्रमित पुष्टि भएका छन् । संक्रमितको संख्या बढेसँगै जिल्लाभित्र सञ्चालित अस्पतालहरुको शैया पनि भरिएका छन् । जिल्लाकै पहिलो जिल्ला अस्पताल रामेछापमा यति बेला कोरोना संक्रमित बिरामीहरुको चाप बढेको छ ।

जिल्लाका स्थानीय तहमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पतालमा रिफर गर्ने गर्ने गरेको कारणले पनि चाप बढदै गएको हो । पाँच वटा एचडीयूसहित ३० वटा आइसोलेसन रहेको अस्पतालमा हाल २२ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको अस्पताले बताएको छ ।

गत बर्ष कोभिडको बिरामी बढदै गएपछि बागमती प्रदेश सरकारले जिल्ला अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिले जिल्लाका कोरोना संक्रमित बिरामीहरुको भरोसाको केन्द्र बनेको छ जिल्ला अस्पताल । सीमित स्रोत र साधनमै सञ्चालन हुँदै आएको अस्पतालले यस बर्षदेखि मुहार फेर्ने तयारीमा छ ।

जिल्लामै पहिलो पटक अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर मेसिन स्थापना हुन प्रदेश सरकारले टेन्डर गरिसकेको छ । त्यसैगरी जिल्ला अस्पतालमा आइसीयू र भेन्टिलेर स्थापना गर्न संघीय सरकारले बजेट सुनिश्चित गरेसँगै अस्पतालका स्वास्थ्यकर्मी उत्साहित भएका छन् ।
जिल्लाभित्र संक्रमित बढिरहदा जिल्ला अस्पतालमा रहेको ३० वटा आइसोलेसन वेड भरिने अवस्थामा पुगेको छ ।

अस्पतालमा रहेको र दाताको सहयोगबाट अहिले एक सय भन्दा बढी सानाठूला अक्सिजन सिलिन्डर जोहो गर्न अस्पताल सफल भएको छ । जसको कारण संक्रमित बिरामीको उपचारमा थप सहज भएको छ । अक्सिजनको जोहो गर्न अस्पतालका अध्यक्ष रोशन पाख्रिन आफै ढल्केबर र विराटनगर पुगेर अक्सिजन सिलिन्डर भरेर ल्याउने कार्यमा खटिदै आएका छन् ।

जिल्लाकै जेठो अस्पताल भएकाले अहिले दायित्व पनि ठूलै आइ परेको छ । कोरोना संक्रमितको उपचारमा डाक्टर, स्टाप नर्स, पारामेडिक्स, प्रशासनका कर्मचारी, चालकदेखि कार्यालय सहयोगी अहोरात्र रुपमा खटिदै आएका छन् । जोखिम मोलेरै संक्रमितको जीवन जोगाउने कार्यमा अस्पतालका स्वास्थ्यकर्मी खटिएका छन् ।

जिल्ला अस्पतालका डा. नितेन्द्र कर्णले जिल्लामा संक्रमितको संख्या बढेसँगै अस्प्तालमा हाल २२ जना कोभिडका बिरामीहरुको उपचार भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार तीन सिफ्टमा डाक्टर सहितको टोलीले संक्रमितको उपचार गरिरहेको छ । अस्पतालले कोरोनाको दोस्रो लहर अन्तर्गत झण्डै एक महिनाको अवधिमा मात्र ५३ जना बिरामीको उपचार गरिसकेको छ । अस्पतालमा एक साता अघि मात्र उपचारको क्रममा एक जना कोरोना संक्रमितको निधन भएको थियो । अन्य बाँकी सबै बिरामी निको भएर घर फर्किएको बताउदै डा. कर्णले गम्भीर बिरामीलाई मात्र काठमाडौं रिफर गरिएको बताए ।

डा. कर्ण भन्छन,‘कोभिडका बिरामी निको भएर घर पठाउन पाउदा निकै ठूलो खुसी मिन्छ ।’ उपचाररत बिरामीको अवस्थाको बारेमा हरेक क्षण क्षणमा सुपरभिजन गरिरहेको बताउदै अस्पतालमा भर्ना भएका कोभिडका सबै बिरामीलाई निको बनाएर पठाउन आफूहरु लागि रहेको बताए । अहिले कोभिडका बिरामीलाई कुन बेला के हुन्छ भन्न सकिने अवस्था छैन, अवस्था विग्रने देखिएपछि तत्काल नै अन्य अस्पताल पठाउछौ, कर्णले भने । प्रदेश सरकारबाट प्राप्त भएको पाँच वेटको एचडीयू पनि पूर्ण रुपमा सञ्चालनमा ल्याएको बताउदै कर्णले सकेको उपचार दिने कार्यमा आफूहरु लागि परेको बताए ।

उनले तत्काल भएको आवश्यक जनशक्ति र स्रोत साधन नहुँदा गम्भीर बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाँध्यता रहेको बताउदै केही समयपछि भने गम्भीर बिरामीको पनि अस्पतालमै उपचार गर्न सकिने बताए ।

डा. कर्णले भने,‘अहिले संक्रमणको दर बढदै गएको छ, कोरोनालाई ख्यालख्याल नसम्झौ, शकां लागेमा नजिकैको स्वास्थ्य संस्था पुगेर चेकजाँच गरौं ।’ उनले सकेसम्म अस्पताल नै आउनु नपर्ने गरी सावधानी अपनाउने जिल्लावासीलाई आग्रह गरे ।
अस्पताले हाल कोभिड बिरामीको लागि उपचारको लागि डा. जीवन चौधरी फोकलपर्सन तोकेको छ । जिल्ला अस्पतालमा हाल ४९ जना कर्मचारी कार्यरत छन् ।

त्यसैगरी अस्पतालमा भर्ना भएका कोभिडका बिरामीको उपचार र खाना पनि सरकारले निशुल्क रुपमा गर्दै आएको छ । जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले कोभिडका बिरामीलाई उपचार र खाना निशुल्क रुपमा व्यवस्थापन गरिएको बताए । केही समयपछि अब अस्पतालले काँचुली फेर्ने बताउदै अक्सिजन प्लान्ट, पिसिआर मेसिन स्थापना गर्नेदेखि आइसीयू र भेन्टिलेर समेत सञ्चालनमा ल्याउने गरी प्रदेश र संघीय सरकारले काम अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्