नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रण प्राथमिकताः मन्त्री ढुंगेल



 १८ जेठ, हेटौडा ।

बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकता रहने बताएका छन् । बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा छलफलका लागि आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको सिद्धान्तहरू प्रस्तुत गर्दै कोरोना तथा अन्य महामारी नियन्त्रण र प्रदेशका नागरिकहरुको जिवन रक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भएको बताएका हुन् ।

युवा पुस्ताको विदेश पलायन रोक्न स्वदेशमा नै रोजगार व्यवस्था गर्न योजनाहरु लागु गरिने, कृषि व्यापार, उद्योग, पर्यटन लगायत तत्कालै रोजगारी सृजना हुने गरी बजेट तर्जुमा, बहुवर्षीय र क्रमागत योजनाका लागि बजेटको सुनिश्चितता गरेर मात्र आगामी वर्ष योजनाहरु ल्याउने प्रदेश सरकारको तयारी रहेको मन्त्री ढुंगेलले बताए ।
आगामी वर्ष आर्थिक वर्षको बिचमा अन्य नयाँ कार्यक्रमको लागि बजेट हस्तान्तरण नगर्ने, राजस्व प्रणालीलाई विकास र विस्तार गरी प्रभावकारी बनाइने बताउदै उनले राजस्व वृद्धिका लागि सम्भाव्य स्रोतको व्यवस्थापन र दायरा बढाउने तर्फ प्रदेश सरकारले काम गरिरहेको बताए ।

आगामी वर्षको बजेटमा प्रदेश भित्रका जिल्ला अस्पतालहरूको स्तरोन्नती, सुदृढीकरणका लागि नयाँ अस्पताल भवनको निर्माणका साथै ती अस्पतालहरूका आवश्यक यन्त्र उपकरण, अक्सिजन प्लाण्ट, स्वास्थ्यकर्मीलगायतको उचित व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिने बताउदै मन्त्री ढुंगेलले भने,‘
प्रदेश सरकारले कोरोना महामारीमा ज्यान गुमाएका विपन्न परिवारलाई राहतको व्यवस्था गर्छ ।’

पर्यटकहरुको आकर्षण बढाउने नयाँ पर्यटकीय क्षेत्रको खोजरु व्यवस्थापन र विकासमा गरी पर्यटन क्षेत्रलाई सवल बनाउन आवश्यक कार्यक्रमहरु तर्जुमा गरिने, कृषि क्षेत्रको विकासका लागि हरित उत्पादन प्रविधि अवलम्बन गरी चक्लाबन्दी खेती सामुहिक खेतीलाई प्रोत्साहन गरी, कृषि बजारको व्यवस्था गरी कृषि उपजहरुको विक्री वितरणलाई प्राथमिकतामा राखेको उनले बताए ।

ठुला भौतिक पूर्वाधार विकास, सुरुङमार्ग तथा रणनैतिक सडक तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्ने, वातावरण मैत्री विद्युतीय बस तथा ठुला यातायात सेवा संचालन गरी यातायात सेवालाई सरल र सुलभ बनाउने प्रदेश सरकारको योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्