खाँडादेवी गाउँपालिकामा १५ वेडको आइशोलेसन सेन्टर सञ्चालनमा (फोटो/भिडियो)



१८ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि १५ वेडको आइशोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्र कोरोना संक्रमित बढेसँगै गाउँपालिका नजिकै हाटचौरमा डाक्टरसहितको आइसोलेसन वेड सञ्चालनमा ल्याएको हो । सोमवारबाट सञ्चालनमा आएको डाक्टर र अक्सिजन सहितको आइशोलेसन सेन्टरमा  संक्रमितलाई भर्ना लिएर उपचार सुरु गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र संक्रमितको संख्या बढदै गएपछि छोटो समयमा नै आइसोलेनसहितको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार अस्पतालमा ९ वटै वडाका ग्रामिण स्वाथ्यकेन्द्र सहित १३ वटा स्वास्थ्य चौकीहरुमा तालिमप्राप्त स्वास्थ्यकर्मी अस्पतालमा परिचालन गरिनेछ ।

नवनिर्मित आइसोलेसनमा १ जना डाक्टर सहित ५ जना स्टाफ नर्सले सेवा सुरु गरेका छन् । अध्यक्ष तामाङले कोभिड विरामीको सम्पुर्ण खर्च पालिकाले व्यहोर्ने गरी ब्यवस्थापन गरिएको साथै जटिल विरामीलाई अन्य अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।

त्यसैगरी गाउँपालिकाले पकरवारमा हेल्थ सेन्टरलाई ननकोभिड बिरामीको उपचारको लागि प्रयोग गर्ने भएको छ । यसअघि गाउँपालिकाले पकरवासमा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

हाल सञ्चालनमा आएको कोभिड अस्पतालमा सबै वेडमा अक्सिजन जडान गरिएको छ भने डाक्टरसहितिका स्वास्थ्यकर्मीलाई खाने बस्नेको समेत व्यवस्थापन गरेको छ । अध्यक्ष तामाङको अनुसार छोटो समयमा तयार गरिएको कोभिड अस्पताल निर्माणमा करिब सात लाख रुपैयाँ खर्च भएको छ ।

भिडियाे 

 

प्रतिक्रिया दिनुहोस्