सुनापति मेडिकल सेन्टरद्धारा सुनापति गाउँपालिकालाई २३ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण (फोटोफिचर)



२२ जेठ, रामेछाप ।
सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरको पहलमा कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि सहयोग पुर्याउने उदेश्यको सुनापति गाउँपालिकालाई २३ लाख ७६ हजार दुइ सय तेइसको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सुनापति गाउँपालिकामा आयोजित एक कार्यक्रमकोबीच सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक समेत रहेका धर्मगुरु विमानसिंह तामाङले सुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री अध्यक्ष धावा लामा र प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

धर्मगुरु तामाङको पहलमा तत्कालको लागि सुनापति गाउँपालिकामा सञ्चालित अस्पताललाई पुग्ने अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । गाउँमा अस्पताल नहुँदा आफ्नो आमा गुमाउनु परेपछि धर्मगुरु तामाङको पहलमा गाउँपालिकामै पहिलो च्यारिटी मेडिकल सेन्टर सञ्चालन गरेर गाउँपालिकावासीलाई सेवा दिदै आएका छन् ।

उनले अहिले कोरोना महामारीको समयमा ठूलो मात्रामा स्वास्थ्य सामाग्री दिएर थप गुण लगाएका छन् । तामाङले आफ्नो गाउँपालिकाभित्र अक्सिजनको अभाव हुन नदिने प्रतिबद्धता अनुसार विभिन्न विदेशी दातृ निकायको साथै स्वदेशकै संस्था र व्यक्तिहरुलाई आग्रह गरेर जुटाएको आर्थिक सहयोगबाट गाउँपालिकालाई सानोठूलो गरेर चालिस वटा अक्सिजन हस्तान्तरण गरेका छन् ।

सुनापति भ्वाँसा मेडिकल सेन्टर प्रालिका सचिव कमानसिंह तामाङले देश विदेशका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले च्यारिटी मेडिकल सेन्टरको खातामा जम्मा गरिदिएको सहयोगबाट अक्सिजनसहित विभिन्न स्वास्थ्य सामाग्री खरिद गरेर गाउँपालिकालाई हस्तान्तरण गरिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘अब गाउँपालिकाभित्रका कोरोना संक्रमित बिरामीले अक्सिजकै अभावमा ज्यान गुमाउनु पर्ने छैन् ।’

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले विपद्को समयमा धर्मगुरु बिमानसिह तामाङको नेतृत्वमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्राप्त हुन निकै खुसीको विषय भएको बताए । उनले कोरोना नियन्त्रण र रोकथामको लागि मेडिकल सेन्टरले खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै सहयोग गरेकामा सम्पूर्ण टिमीलाई धन्यवाद दिए ।

आर्थिक सहयोग अभियानमा जङतावा भिजेल अस्पिटल दक्षिण कोरिया, टुगेदर उइथ वल्र्ड दक्षिण कोरिया, हेपी अल विङग दक्षिण कोरिया, धर्म गुरु घेसे लोब्साङ धावा लामा, धर्म गुरु विमान सिङ तामाङसहित नेकपा माओवादी केन्द्र सुनापति गाउँ कमिटी बेथानको भूमिका रहेको थियो ।

गत बर्ष पनि च्यारिटी मेडिकल सन्टरले लकडानको कारण कोही पनि भोकै नपरुन भनेर गाउँपालिकाको पाँच वटै वडामा प्रत्येक घर धुरीको लागि एक/एक बोरा चामल निशुल्क रुपमा सहयोग गरेका थिए । सचिव तामाङका अनुसार गत बर्ष एक करोड भन्दा बढीको खाद्यन्न गाउँपालिवासीलाई वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्