कोरियामा रहेका रामेछापवासी जन्मभूमिलाई सहयोग जुटाउदै



२४ जेठ, काठमाडौं ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि दक्षिण कोरियामा रहेका रामेछापवासीहरु सहयोग संकलनमा जुटेका छन् । आफ्नो जन्मभूमि रामेछापमा पछिल्लो दिनमा कोरोना संक्रिमित बढिरहेको बेला स्वास्थ्य सामाग्री खरिद गर्नको लागि कोरियामा रहेका रामेछापवासीहरु आर्थिक सहयोग जुटाउने अभियानमा जुटेका हुन् । रामेछापको आठ वटै स्थानीय तहलाई समानुपातिक रुपमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मार्फत आर्थिक सहयोग हस्तान्तरण गर्ने तयारी तीब्र बनाएको छ ।

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष एवं आर्थिक सहयोग संकलन समितिका संयोजक भीम खड्काले संकटको बेला जिल्लावासीको लागि सहयोग गर्ने उदेश्यले आर्थिक सहयोग गरिरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार हाल कोरियामा रामेछापका दुई सय भन्दा बढी नेपालीहरु समितिमा आबद्ध छन् । ‘जन्मभूमिको लागि यो संकटको घडीमा सकेको सहयोग गर्ने उदेश्यले सबैले मिलेर सहयोग जुटाउदै छौ’, खडकाले भने,‘अहिलेसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको छ, बाँकी दुई लाख जुटाएर आठ लाख बनाएर जिल्लामा पठाउँछौं ।’

स्थानीय तहमा अक्सिजन, औषधी लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा थोरै भएपनि सहयोग पुगोस भनेर अभियान सञ्चालन गरिरहेका छौ,उनले भने । नेपालमा कोरोनाको दोस्रो लहर बढदै भएपछि २०२१ मे १९ तारिकमा कार्यसमिति,संरक्षक र सल्लाहकार समितिको बैठकले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । समितिले जिल्लाको लागि सहयोग गर्ने सबै दाताहरुको नामावली समेत सार्वजनिक गर्ने बताएको छ ।

सन् २०१६ मा स्थापना भएको संस्था कोरियामा रहेका रामेछापवासीको साझा चौतारी हो । संस्थाले गत वर्ष कोरियामै सांगीतिक कार्यक्रम गरी जम्मा भएको रकमबाट संस्थाको नाममा दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषबाट आएको पैसाबाट पहिलो चरणमा रामेछापका ६ गाउँपालिका र २ नगरपालिकाका दुई–दुईजनाको दरले १६ जना र थप एक गरी १७ जना लाभान्वित भइसकेका छन् । भविष्यमा यो कार्यक्रम रामेछापका ६४ वटै वडामा पुर्याउने लक्ष्य संस्थाले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्