मन्थली नगरपालिकामा भत्ताको लफडा



२४ जेठ, रामेछाप ।
मन्थली नगरपालिकाले फन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुले पाउने जोखिम भत्ताको विषयमा निर्णय गर्न सकेको छैन् । स्वास्थ्यकर्मीलाई भत्ता दिने विषयमा पाँच सदस्यीय कार्यदलले नगरपालिकालाई प्रतिवेदन बुझाए पनि अझै निर्णय  गर्न नसकेकाे हाे ।  जोखिम भत्ताको विषयमा नगरपालिकाले समयमा नै निर्णय नगर्दा स्वास्थ्य सेवा प्रभावमा  समेत असर पुगेको छ ।

मन्थली नगरपालिकाभित्र कोरोना संक्रमणको दर बढिरहेको बेला नगरपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न नसकेको गुनासो नगरपालिवासीले गरेका छन् ।

मन्थली नगरपालिकाभित्र रहेको २८ वटा स्वास्थ्य संस्थामा गरी १ सय ३० जना स्वास्थ्यकर्मी कार्यरत रहेको मन्थली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भत्ताको विषयमा स्वास्थ्यकर्मीले कुरा उठाएपछि गत वैशाख १६ गते गठित पाँच सदस्यीय कार्यदलले कोभिडको बिरामीको उपचारमा खटिने र नखटिने गरी दुई तहमा भत्ता दिनुपर्ने सुझाव दिएको छ । तर निर्णय भने अझै भएको छैन् ।

मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फ्यालले स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ताको विषयमा समितिले नगरपालिकालाई प्रतिवेदन बुझाइसकेको रामेछाप न्युजलाई बताए । उनका अनुसार नगरपालिकाको सीमित स्रोत र साधनलाई पनि ख्याल गर्दै जोखिममा खटिने स्वास्थ्यकर्मीले पाउनु पर्ने जोखिम भत्ताको विषयमा केही दिनमा निर्णय हुने बताए ।

नगरपालिकावासीले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रले कोभिडका बिरामी भर्ना गरेर प्रभावकारी रुपमा सेवा नदिएको गुनासो बढदै गएको छ । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको १८ वेडको आइसोलेसन सञ्चालनमा ल्याए पनि मन्थली नगरपालिकाका संक्रमित बिरामीहरु उपचार लागि जिल्ला अस्पताल रामेछाप जानु पर्ने बाँध्यता रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा हाल ३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य शाखाले बताएको छ । मन्थली नगरपालिकामा हाल ८७ जना संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्