दोरम्बा सैलुङ गाउँपालिकाद्धारा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय



२३ जेठ, रामेछाप ।
दोरम्बा गाउँपालिकाद्धारा कोभिडका बिरामीकाे उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारमा खटिने डाक्टरसहित स्वास्थ्यकर्मीलाई पचास प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कमानसिह मोक्तानले कोभिडका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको बताए । ‘सीमित स्रोत र साधनकोबीच पनि अहिले गाउँपालिकाभित्र डाक्टारसहितका स्वास्थ्यकर्मीहरुले कोभिडका बिरामीको उपचार गरिरहनुभएको छ’, उनेले रामेछाप न्युजसँग भने,‘स्वास्थ्यकर्मीहरुले कोरोना नियन्त्रण र रोकथामको लागि गरिरहेको काम प्रसंशनिय छ ।’ अध्यक्ष मोक्तानले कोरोना नियन्त्रण र रोकथामको लागि पिसिआर परीक्षण गर्ने कामलाई तीब्रता दिएको जानकारी दिए ।

दोरम्बा सैलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल भट्टराईले गाउँपालिकाभित्र रहेको नौ वटा स्वास्थ्य कार्यालयमा कार्यालय सहयोगी बाहेक ३५ जना स्वास्थ्यकर्मी रहेको जानकारी दिए । दोरम्बा प्राथमिक अस्पतालमा १५ वेडको आइसोलेसन सञ्चालन भइरहेको बताउदै  उनले गाउँपालिकाको तर्फबाट कोरोना संक्रमितको उपचार निशुल्क भइरहेको बताए । उनका अनुसार दोरम्बा अस्पतालमा ३५ जना भन्दा बढी कोरोना संक्रमित  बिरामी निको भएर घर फर्किएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्