रामेछापको लोप्राङमा बलेरो दुघर्टनाः एउटा रुखले बचायो ६ जनाको ज्यान



२६ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–४ बेथान स्थित लोप्राङमा बलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनाग्रस्त गाडी भिरको रुखमा अडकिएको कारण छ जनाको ज्यान बचेको छ । लोप्राङबाट डहुतर्फ जादै गरेको प्रदेश ३–०१–०४२ च ५५५२ नम्बरको बलेरो गाडी सडकबाट अचानक करिब ७० मिटर तल खसेपछि सल्लाको रुखमा अडकिएको थियो ।

दुर्घटनामा परी छ जना घाइतेको प्रहरी र स्थानीयले उद्धार गरेर थप उपचारको लागि बेथान स्थित स्वास्थ्य चौकीमा पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले बलेरो दुर्घटना भएपनि रुखको कारण छ जनाको ज्यान बचेको रामेछाप न्युजलाई जानकारी दिए ।

दुर्घटनमा परी सुनापति गाउँपालिका–४ लोप्राङ बस्ने बर्ष २२ का रामशरण श्रेष्ठ, लोप्राङकै बर्ष १८ का रोज बहादुर श्रेष्ठ, बर्ष २७ का हिमाल श्रेष्ठ, बर्ष ७५ का चक्र बहादुर श्रेष्ठ, बर्ष २४ का ज्ञान बहादुर श्रेष्ठ र बर्ष १८ का सोम बहादुर श्रेष्ठ रहेका छन् । घाइतेहरुको हात खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ ।

दुर्घटनमा परी घाइतेहरुको तत्काल स्वास्थ्य चौकीसम्म पु¥याउनको लागि स्थानीय रमेश केसीले गाडीको व्यवस्था गरेका थिए । दुर्घटनामा परी घाइते भएका घाइतेहरुको प्राथमिक उपचार गरेर थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको सुनापति गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्