हृदयघातबाट रामेछापका सामाजिक अभियन्ता शर्माको निधन



२६ जेठ, काठमाडौं ।
रामेछापका सामाजिक अभियन्ता निदेशराज शर्माको हृदयघातबाट निधन भएको छ । मन्थली नगरपालिका निवासी ८७ बर्षिय शर्माको आज ओम अस्पतालमा  हृदयघातबाट निधन भएको हो । कोरोना संक्रमणको कारण स्वास्थ्यमा समस्या भएपछि शर्मालाई एक साता अघि ओम अस्पतालमा भर्ना गरिएको थियो । कोरोना जितेर घर फर्कने तयारी भइरहेको बेला आज बिहान अचानक हृदयघात भइ उहाँको निधन भएको ओम अस्पतालले बताएको छ ।

तामाकोसी अस्पतालका डा. सुमन कर्माचार्यले कोभिडलाई जितेर नर्मल वेडमा सार्ने तयारी भइरहेको अवस्थामा आज बिहान हृदयघातको कारण शर्माको निधन भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण भएपछि एक साता अघि तामाकोसी अस्पतालतमा उपचारको क्रममा स्वास्थ्यमा थप समस्या देखिएपछि ओम अस्पतालमा रिफर गरिएको थियो ।

तामाकोसी सेवा समितिको संस्थापक अध्यक्ष समेत रहनुभएका शर्मा तत्कालिन मन्थली पञ्चायतको प्रधानपञ्च रहनुभएको थियो । रामेछाप जिल्लामा सामाजिक जागरण ल्याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शर्माको निधनले रामेछापले असल अभिभावक गुमाएको छ । डा. कर्माचार्यले  शर्माकाे निधनबा६ तामाकोसी अस्पतालले आफ्नो अभिभावक गुमाएको बताउदै स्वर्गीय शर्माले रामेछापवासीको लागि ठूलो गुण लगाउनुभएको बताउनुभयो । स्वर्गीय शर्माको आजै पशुपति स्थित आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्