अब खाँडादेवी गाउँपालिकाभित्र सबै घरमा इन्टरनेट जडान हुने



जेठ २७, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको नौ वटै वडाका सबै वस्तीमा अप्लिकट फाइबरसहित इन्टरनेट जडान हुने भएको छ । गाउँपालिकाले दुर सञ्चार विकास कोषबाट आउने बजेट परिचालन गरी गाउँपालिकाभित्र अप्टिकल फाइबरसहितको इन्टरनेट जडान गर्ने भएको हो । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले इन्टरनेट सेवा अनिवार्य भइसकेकाले सबै वस्तीमा इन्टरनेटको सेवा पुर्याउने काम अगाडि बढाउन लागिएको बताए ।

गाउँपालिकाले बिपी राजमार्ग मार्फत गाउँपालिकासम्म विछ्याएको अप्टिकल फाइबरमार्फत गत बर्ष असारबाटै केही वडा, बस्ती र विद्यालयहरुमा इन्टरनेट सेवा सुरु गरेको थियो । खाँडादेवी गाउँपालिका अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा प्रदान गर्ने रामेछापको पहिलो गाउँपालिकाका हो ।

अबको तीन महिनाभित्र बाँकी रहेका सबै विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा बस्तीहरुलाई फाईबर मार्फत ईन्टरनेट जोडिने तयारी गाउँपालिकाले अगाडि बढाएको छ । हाल विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीहरुमा लाग्ने अप्किल फाइबरको दुरीको मापन गर्ने काम भइरहेको छ । यसको साथै सबै बस्तीमा इन्टरनेट पुर्याउन यसै बर्ष डेन्टर हुने भएको छ ।

गाउँपालिकाको स्रोत र साधनले मात्र सबै वस्तीमा इन्टरनेट सेवा दिन कठिन भएपछि प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको थियो । दुर सञ्चार कोषले लगानी गरिदिने भएपनि अब गाउँपालिकाभित्र पूर्ण रुपमा इन्टरनेटको पहुँच हुने भएको हो ।

अध्यक्ष तामाङले अप्टिकल फाइबर विछ्याउनको लागि लागत कम गर्नको लागि सुनापति र दोरम्बा गाउँपालिकासँग पनि समन्वय भइरहेको रामेछाप न्युजलाई बताए ।सरकारी कार्यालयसँगै गाउँपालिकावासीलाई उच्च गतिको इन्टरनेट पुर्याउने अभियानमा लागेको बताउदै उनले स्मार्ट गाउँपालिका बनाउनका लगि आफुले प्रविधि र इन्टनेटमा जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्