गाउँपालिकाको नाम विधिसम्मत परिवर्तन गरिएको हो, भ्रम छर्न आवश्यक छैनः अध्यक्ष मोक्तान



२७ जेठ, रामेछाप ।
दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विधिसम्मत रुपमा गाउँपालिकाको नाम परिवर्तन गरिएको बताएका छन् । गाउँपालिकाको नाम ऐतिहासिक भूमिबाट राखिएको र ऐतिहासिक सम्पदा सैलुङलाई समावेश गरेर दोरम्बा सैलुङ बनाइएको बताउदै उनले गाउँ सभाको निर्णय अनुसार संघीय सरकारले नाम परिवर्तन गर्ने निर्णय विधिसम्मत भएको बताएका हुन् ।

आफूहरुले नियम कानुन अनुसार नै प्रक्रिया पुरा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर पास गरेको विषय कानुन विपरीत नहुने उनले बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले ऐतिहासिक दोरम्बाको नाम कायमै राख्दै देशकै प्रमुख पर्यटकीय गन्तव्य ऐतिहासिक सम्पदा सैलुङलाई थपेर दोरम्बा सैलुङ बनाउदा किन टाउको दुखाई ?’ गाउँपालिकाले नियम र कानुनलाई नै आधार बनाएर सर्वसम्मत रुपमा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरिएको बताउदै मोक्तानले केही व्यक्तिले गाउँपालिकाप्रति पूर्वाग्रह राखेर भ्रमको खेती गर्न खाजेकोप्रति असन्तुष्टि जनाए ।

स्थानीय सरकार सञ्चालन ऐनलाई नै आधार बनाएर गाउँपालिकाको नाम परिवर्तन गरिएको हो, आधार र तथ्यमा टेकेर नाम फेरिएको हो, कानुन अनुसार काम गर्दा कसरी कानुनको उल्लंघन हुन्छ ? उनले प्रश्न गरे ।केही व्यक्तिको स्वार्थ पूरा नभएको रिसमा गाउँपालिकालाई बदनाम बनाउने गरी भ्रमको खेती भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउदै अध्यक्ष तामाङले गाउँपालिबाट भएका सम्पूर्ण काम पारदर्शी रहेको दावी गरे ।

‘जनताले काम गर्न भोट दिएर पठएका हुन्, अहिलेसम्म इमान्दारीतापूर्वक काम गरिरहेका छौ’, मोक्तानले भने,‘अनियमितता भएको आरोप लगाउनेहरु तथ्य र प्रमाणसहित गाउँपालिकामा आउनुहोस, हामी सबै कामको बारेमा जानकारी दिन तयार छौं ।’

गाउँपालिकाले राम्रो काम गर्न खोज्दा विभिन्न बहानामा अवरोध गर्ने क्रम अहिले पनि जारी रहेको बताउदै राम्रो कामलाई चुनौतीको सामना गरेर पनि अगाडि बढाउने उनले बताए । दोरम्बा गाउँपालिकाको पाँचौ गाउँ सभाले दोरम्बा गाउँपालिकाको नाम राजपत्रमा प्रकाशित भएकामा नाम परिबर्तन गरि दोरम्बा शैलुङ्ग कायम गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

दोरम्बा गाउँपालिकाले सैलुङ क्षेत्रलाई दोलखा जिल्लाले आफ्नो मात्र दावी गरेपछि सैलुङलाई दुवै जिल्लाको साझा थलोको रुपमा विकास गर्न सैलुङ थपेर दोरम्बा सैलुङ गाउँपालिका बनाउने निर्णय गरेको थियो । अध्यक्ष मोक्तानले सैलुङ थपेर दोरम्बा सैलुङ गाउँपालिका बनाउदा कुनै पनि नोक्सान नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्