रामेछापको ८ स्थानीय तहमा २३ सय डोज खोप वितरण, कुन स्थानीय तहमा कति ? (सूचिसहित)



२८ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको आठ स्थानीय तहको लागि कोरोना भाइरस विरुद्धको २३ सय ६ डोज खोप वितरण गरिएको छ । स्वास्थ्य कार्यालयबाट वितरण गरिएको भेरोसेल खोप अहिले आठ वटै स्थानीय तहमा ६२ देखि ६४ बर्ष उमेर समुहका व्यक्तिहरुलाई लगाइएको हो ।
खोपको माग अत्याधिक भएपनि जिल्लामा सीमित मात्र खोप आएकाले स्वास्थ्य कार्यालयले सबै भन्दा बढी जनसंख्या रहेको मन्थली नगरपालिकालाई प्रदान गरेको छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिकाको लागि ७ सय ५० डोज, रामेछाप नगरपालिकाको लागि ४ सय ५१ डोज खोप उपलब्ध गराएको बताएको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाको लागि २ सय उमाकुण्ड गाउँपालिकाको लागि २ सय, लिखु तामाकोसी गाउँपालिकाको लागि १ सय ३०, खाँडादेवी गाउँपालिकाको लागि ३ सय, दोरम्बा गाउँपालिकाको लागि १ सय २४ र सुनापति गाउँपालिकाको लागि १ सय ५० डोज खोप पठाइएको स्वास्थ्य कार्यालयले बताएको छ । जेठ २५ गतेबाट सुरु भएको कोरोना भाइरस विरुद्धको खोप लगाउने समय जेठ २९ गतेसम्मको लागि तोकिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले लक्षित समुदाय भन्दा अन्य व्यक्तिहरुलाई खोप नलगाउन आग्रह गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘सरकारले तोकेको मापदण्ड अनुसार मात्र लक्षित उमेर समुहले मात्र खोप लगाउनु पाउनु पर्छ, जिल्लामा खोपको माग धेरै छ, अहिले आएको सीमित खोप सबै स्थानीय तहमा पठाएका छौ,मापदण्ड विपरीत खोप लगाइएको पाइएमा कारवाही हुन्छ ।’ स्वास्थ्य कार्यालयका अनुसार तीन दिनको अवधिमा  १२ सय ३२  जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्