प्रधानमन्त्रीको हत्या गर्त तयार भएका बैद्यलाई तत्काल कारवाही गर्नुपर्छः मन्त्री ढुंगेल



२९ जेठ, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्न तयार रहेको घोषणा गर्ने सांसद नरोत्तम बैद्यलाई कानुनी कारवाही गर्नुपर्ने बताएका छन् । देशको प्रधानमन्त्रीलाई खुलेआम रुपमा हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद बैद्यलाई नेपालको प्रचलित कानुन अनुसार तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका हुन् ।

मन्त्री ढुंगेलले बैद्यलेले बागमती प्रदेशसभाको रोस्टममा उभिएर प्रधानमन्त्री ओलीलाई मार्नका लागि अरुलाई मात्र होइन स्वंम आफू महात्मा गान्धीलाई मार्ने नाथुराम गोड्से जस्तै ओलीलाई मार्न तयार रहेको हुने घोषणा गर्नु आपतिजनक विषय भएको बताए । ‘यस्ता अक्ष्यम अभिव्यक्ति दिनेलाई कुनै पनि बहानाबाजीमा छुट दिन हुँदैन’,‘उनले रामेछाप न्युजसँग भने,‘प्रधानमन्त्रीको हत्या गर्छु भन्ने अभिव्यक्ति सामान्य विषय बन्न सक्दैन ।’

‘मान्छे मार्छु’ भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्ने बताउदै संसदको रोस्टममा उभिएर दिएको यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन, मन्त्री ढुंगेलले भने । प्रदेशसभामा खुल्लम खुल्ला प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको कुरा बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्न गर्न उनले माग गरेका छन् ।

काँग्रेसका बागमती प्रदेशसभा सदस्य वैद्यले शुक्रबारको बैठकमा महात्मा गान्धीका हत्यारा गोड्सेको नाम लिँदै भनेका थिए ः ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु ।’ वैद्यको यो अभिव्यक्तिलाई लिएर काँग्रेस र एमालेभित्र अहिले हंगामा मच्चिएको छ । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्