१२ बर्षपछि बनेको रामेछाप–काभ्रे जोडने पुल सञ्चालनमै नआई भत्कियो



२९ जेठ, रामेछाप ।
नेपालीमा उखान नै छ–१२ बर्षमा खोला पनि फर्कन्छ । १२ बर्षमा खोला पनि फर्किन्छ भनेझै तीन बर्षभित्र सम्पन्न गर्नुपर्ने रामेछाप–काभ्रे जोडने चौरीखोलाको पक्की पुल १२ बर्षपछि सम्पन्न भएको छ । तर सम्पन्न भएर सञ्चालनमा आउन नपाउदै पुलको मेसिनरी वाल भत्किएको छ ।
रामेछाप–काभ्रे जोडने चौरीखोलास्थित पक्की पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नगर्दा रामेछापको दोरम्बा र सुनापति गाउँपालिकाका नागरिकहरुले सास्ती खेप्दै आएका छन् । ठेकेदार कम्पनीले पटक–पटकको प्रतिबद्धता अनुसार १२ बर्ष लगाएर  पुन बनाए पनि  सञ्चालनमा नआउदै भत्किएपछि दोरम्बा गाउँपालिकावासीमा चिन्ता थपिएको छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले ठेकदारले १२ बर्ष लगाएर पुल बनाएपनि सञ्चालनमै नआउदै मेसिनरी वाल भत्किएको बताए । उनले रामेछाप न्युजसँग भने,‘भत्किएको मेसिनरी वाल तत्काल बनाउन आग्रह गर्दा पनि ठेकदार मुकुन्द गौतमले आलटाल गर्दै आएका छन् ।’ दोरम्बा गाउँपालिका बासिन्दा नागरिता, पासपोर्ट र जग्गाको रजिष्ट्रेसन पास गर्न बाहेक सबै काम काठमाडौंसँग जोडिएको छ । तर बनेको पुल पनि सञ्चालन हुने अवस्थामा पुनः भत्किएको छ ।

पुल निर्माणको जिम्मेवारी पाएका एनएन निर्माण सेवाका सञ्चालक मुकुन्द गौतमले पुल निर्माणमा ढिलाइ गर्नुको कारण निकै कम मुल्यमा ठेक्का कबोल रहेकाे छ ।  चौरीखोलको पुल निर्माणको क्रममा ठेक्का आह्वान गर्दा सर्वोद्धार/फेन्स/एनएन जेभीले पुल निर्माणको स्टामेट भन्दा दुई गुण कम रकममा ठेक्का हालेको थियो । कम मुल्यमा हालेकै कारण सोही कम्पनीले नै पुलको ठेक्का पाएको थियो । जेभीले तीन करोडको स्टामेट भएपनि १ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । ६१ मिटर लम्बाई रहेको सो पुल सञ्चालनमा आउदा रामेछापवासीलाई राहत हुनेछ ।

स्थानीय सुशिल चौलागाईले निर्माण सम्पन्न भएर सञ्चालनमै आउने बेलामा रामेछापतर्फको मेसिनरी वाल भत्किदा थप समस्या सृजना भएको बताए । उनले कमसल निर्माण सामाग्री प्रयोग गरिएको कारण करिब १५ मिटर मेसिनरी वाल भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्