रामेछापमा अहिले अक्सिजनको अभाव छैनः थापा



५ असार, रामेछाप ।
स्वास्थ्य कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र तत्कालको लागि अक्सिजन अभाव नरहेको बताएको छ । कार्यालयले स्थानीय तहको सक्रियता र सहयोगी दाताहरुले यस अवधिमा उपलब्ध गराएको कारण अहिले जिल्लामा अक्सिजनको अभाव नरहेको बताएको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भवन थापाले जिल्लाभित्र अहिले कोभिडका बिरामीको उपचारको लागि अक्सिजनको अभाव नरहेको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘कोरोनाको दोस्रो लहरको कारण जिल्लामा एकै पटक धेरै संक्रमित बढदा अक्सिजनको माग निकै थियो, अहिले जिल्लाभित्रका अस्पतालमा आवश्यकता पूरा हुने भरी अक्सिजन सिलिन्डर छ ।’ थापाले विभिन्न संघ संस्थाले कोभिड -१९ जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य कार्यालयमा प्राप्त स्वास्थ्य सामाग्री आवश्यकताको आधारमा स्थानीय तहलाई उपलब्ध गराएको बताए ।

उनले भने,‘कोरोनाको दोस्रो लहर सुरु हुँदा जिल्लाभर एक सय मात्र अक्सिजन सिलिन्डर थिए, अहिले बढेर ३ सय ३७ पुगेको छ ।’ रामेछाप जिल्लामा कोभिड संक्रमितले अक्सिजनकै अभावमा जीवन गुमाउन नपरोस भनेर सहयोगी दाताहरुले अक्सिजन सिलिन्डरलाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएका छन् । जिल्ला अस्पताल रामेछापमै निकट भविष्यमै अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि हाल कायम रहेको अक्सिजन सिलिन्डर जिल्लाभित्रको लागि पर्याप्त हुने स्वास्थ्य कार्यालयले बताएको छ ।  थापाका अनुसार हाल जिल्लाभित्र ५३ वटा कन्सल्टेटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्