रामेछापको तामाकोसी र सुनकोसी नदी किनाराका बासिन्दालाई सर्तक रहन जिप्रका रामेछापको आग्रह



५ असार, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले तामाकोसी सुनकोसी लगायतका नदी किनाराका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरेको छ । नदीमा पानीको बहाब बढने खतरा रहेको कारण उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले आज एक विज्ञप्ती जारी गर्दै नदी किनाराका बस्ती जोखिममा पर्न सक्ने भएकाले आसपासका बासिन्दालाई सतर्क हुन आग्रह गरेका छन् । विज्ञप्तीमा सुनकोसी तामाकोसी तथा लिखु नदी लगायतका खोलाका किनारामा पानीको बहाब बढने भएकाले सतर्क रहन भनिएको छ । जोखिमपूर्ण नदी तथा खोला किनारामा हिडडुल नगर्न पनि जिप्रका रामेछापले नागरिकहरुमा अपिल गरेको छ ।
यसैबीच शुक्रबार साँझदेखि त्रासमा बाँचिरहेका तामाकोशी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा रहन सूचना जारी भइरहेका बेला थुनिएको नदी खुलाउन चीनियाँ टोली परिचालन भएको छ । पहिरोले थुनिएको तामाकोशी नदीको सहायक खोला रोङ्सी खोलाको बहाव सुचारु गर्न चीनियाँ टोली परिचालन भएको हो । शुक्रबार रातिदेखि चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो गएपछि रोङ्सी खोला थुनिएको छ ।

पहिरोले खोला थुनिएपछि ताल बनेका कारण सो पानी एकपटक फुटेर तामाकोशीमा मिसिदा तटीय क्षेत्रमा बाढीको त्रास छ । शनिबार बिहानदेखि चीनियाँ पक्षले खोला खुलाउन पहल गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

नेपालतिरबाट खोला थुनिएको ठाउँमा जान सम्भव नभएकाले चीनको टोली परिचालन भएको हो । कुनै पनि बेला थुनिएको खोला फुट्ने खतरा भएका कारण माथिल्लो तामाकोशी जलवद्यिुत आयोजनाको ड्यामबाट पानी छाडिएको छ ।अहिले पनि तामाकोशी तटीय क्षेत्रका दोलखा र रामेछापका बस्तिहरुमा सतर्कता अपनाउन सरकारले आगह गरेको छ ।

रामेछाप जिल्लामा शुक्रवार मध्यरातदेखि नै नदी किनाराका बासिन्दालाई सतर्क रहन प्रहरी माइकिङ गर्न सुरु गरेको थियो । अहिले पनि प्रहरीले नदी किनारामा बस्तीमा जोखिम कायमै रहेकाले सचेत र सतर्क रहन आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्