रामेछापमा आगामी आर्थिक बर्षका लागि ५ अर्बको बजेट बन्दै, कुन स्थानीय तहमा कति ?



६ जेठ, रामेछाप ।
रामेछापका आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । यही असार १० गते बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार स्थानीय तहहरु अहिले बजेट निर्माणमा जुटेका हुन् । बजेट निर्माणमा आगामी आर्थिक बर्ष स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने गरी गृहकार्य गरिरहेका छन् । विगतमा सडक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले आगामी आर्थिक बर्षमा भने स्वास्थ्य क्षेत्रको स्तरउन्ती गर्ने गरी बजेट ल्याउने बताएका छन् ।

जिल्लाका स्थानीय तहमा आन्तरिक स्रोत निकै न्युन हुँदा संघीय सरकार र प्रदेश सरकारले प्रदान गर्ने शर्सत अनुदानलाई आधार बनाएर बजेट निर्माण हुने गरेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाले गिटी बालुवा विक्रि वितरण गरेर केही आन्तरिक स्रोत जुटाए पनि अन्य स्थानीय तहहरु भने संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानकै आधारमा चल्ने गरेका छन् ।

आगामी आर्थिक बर्षको लागि आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त छन् । मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को लागि करिब १ अर्ब ७ करोड बजेट ल्याउने तयारी गरेको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले यस आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व संकलन नभएकाले आगामी बर्षको लागि १ अर्ब ७ करोड बराबरको बजेट बनाउने तयारी भइरहेको रामेछाप न्युजलाई बताए ।

त्यसैगरी रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा मगरले यस आर्थिक बर्षको हाराहारीमा आगामी बजेट ल्याउने तयारी भइरहेको बताउछन् । उनले रामेछाप न्युजसँग भने,‘नगरपालिकाले करिब ६० करोड हाराहारीमा बजेट ल्याउने गरी तयारी गरिरहेका छौं ।’उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले पनि यस  अागामी आर्थिक बर्षको लागि ५८ करोड बराबरकाे बजेट ल्याउन लागिएकाे बताए ।

त्यसैगरी गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आगामी आर्थिक बर्षको लागि ६३ करोड २५ लाख बराबरको बजेट ल्याउने तयारी भइरहेको रामेछाप न्युजलाई बताए ।लिखु तामाकोसी गाउँपालिकाले भने आगामी आर्थिक बर्षको लािग रामेछापको छ वटा स्थानीय तह मध्य सबै भन्दा धेरै बजेट ल्याउने भएको छ । यस आर्थिक बर्षमा शर्सत बाहेकका अन्य बजेट खर्च हुन नसकेकाले उक्त बजेटलाई पनि जोडेर बजेट ल्याउन लागेको हो । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले करिब १ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले झण्डै ९० करोड हाराहारीमा आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । यस आर्थिक बर्षमा गाउँपालिकाले ८६ करोडको बजेट ल्याएको थियो ।

त्यसैगरी दोरम्बा सैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागिक झण्डै ५६ करोडको हाराहारीमा बजेट ल्याउने बताएको छ । गाउँपालिकाका अध्यक्ष कमासिंह मोक्तानले आन्तरिक स्रोत नहुँदा संघ र प्रदेश सरकारबाट आउने बजेटलाई नै आधार बनाएर गाउँपालिकाले बजेट बनाउने गरेको बताए । यस आर्थिक बर्षमा दोरम्बा गाउँपालिकाले करिब ५४ करोडको बजेट ल्याएको थियो ।

त्यसैगरी सुनापति गाउँपालिकाले भने यस आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने बताएको छ । गाउँपालिकाका अध्यक्ष धावा लामाले आगामी आर्थिक बर्ष ४८ करोड बराबरको बजेट ल्याउने तयारी भइरहेको रामेछाप न्युजलाई बताए ।

अहिलेसम्म स्थानीय तहकाे तयारी अनुसार करिब ५ अर्ब २५ करोड बराबरको बजेट आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्