रामेछापका सबै स्थानीय तहले डाक्टर उत्पादन गर्न बजेट छुट्याउनु पर्छः डा. कमाचार्य



७ असार, रामेछाप ।
डा. सुमन कर्माचार्यले रामेछाफ  जिल्लाभित्रै डाक्टर उत्पादन गर्नको लागि आठ वटै स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । जिल्लाको सबै स्थानीय तहमा स्थायी र अस्थायी अस्पताल सञ्चालनमा आइसकेको अवस्थामा जिल्लाभित्रै डाक्टर उत्पादन हुने गरी स्थानीय तहले छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘हरेक स्थानीय तहले बार्षिक रुपमा तीन जनालाई डाक्टर पठाउने नीति बनाउनु पर्छ’, डा. कमार्चायले रामेछाप न्युजसँग भने,‘स्थानीय सरकारको लगानीमा डाक्टर बन्नेहरुले स्थानीय तहमै सञ्चालित अस्पतालमा काम गर्ने गरी कार्यविधि बनाउनु पर्छ ।’

डाक्टर पठाउनको लागि स्थानीय सरकारले जेहनदार र आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीलाई छनोट गर्नुपर्ने उनले बताए । स्थानीय तहले नै डाक्टर उत्पादन गर्ने अभियान अगाडि बढाउदा ती डाक्टरहरुले आफ्नो गाउँठाउँमै बसेर सेवा दिने बताउदै डा. कर्माचार्यले डाक्टरसँगै स्टाप नर्सलाई पठाउनको लागि पनि छात्रवृत्ति दिनुपर्ने बताए ।

‘सकेसम्म मेहनत गर्ने गरिब परिवारबाटै डाक्टर पढाउनको लागि छात्रवृत्ति दिनुपर्ने नियम बनाउनु पर्छ, यसबाट उसको घरपरिवारको मात्र होइन, समाजकै आर्थिक स्तर उकास्न पनि मद्दत गर्छ’, उनले भने । रामेछापमा स्थानीय सरकार गठन भएको चार बर्ष पुग्दा समेत स्वास्थ्य क्षेत्रको दिघकालीन विकास गर्नको लागि डाक्टर नर्स उत्पादन गर्ने विषयम स्थानीय सरकारको ध्यान जान सकेको छैन् । हरेक बर्ष सडक निर्माणलाई प्राथमिकता दिदै आएको स्थानीय सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कम ध्यान दिएको छ । कोरोना  संक्रमणको कारण भने स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई बल्ल प्राथमिकतामा राखेको छ ।

रामेछाप जिल्लाको ६ वटा गाउँपालिकामा हाल पाँच शैयाको अस्थायी अस्पताल सञ्चालनमा रहेको छन् । त्यसैगरी नरपालिका र गाउँपालिकामा १० र १५ शैयाका नयाँ अस्पताल धमाधम निर्माण भइरहेका छन् । हाल एमबिबिएस अध्ययनको लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र काठमाडौं उपत्यकाभित्र ४४ लाख खर्च हुने गरेको छ । स्थानीय तहले चाहेको अवस्थामा कार्यविधि बनाएर गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन डाक्टर पठाउन लगानी गर्न सक्नेछन् ।

छ बर्ष गाउँपालिकाले लगानी गरेर डाक्टर उत्पादन गर्न सकेको अवस्थामा सबै डाक्टर खोज्नु पर्ने बाँध्यता समेत स्थानीय तहमा हटनेछ । स्थानीय सरकार सञ्चालनमा आएको चार बर्ष पूरा भइसक्दा समेत रामेछापका कुनै पनि स्थानीय तहल डाक्टर उत्पादनको लागि स्पष्ट योजना बनाउन सकेका छैनन् । जिल्लाभित्र लिखु तामाकोसी गाउँपालिकाको खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर बाहेक अन्य स्थानीय तहमा कार्यकरत सबै जिल्ला बाहिरका डाक्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्