७ करोड लगानीमा रामेछापको मन्थलीमा बन्यो चिस्यान केन्द्र



८ असार, रामेछाप ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा जिल्लाकै ठूलो चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाका किसानले उत्पादन गरेका फलफूल तरकारी लगायतका उपज राख्नको लागि चिस्यान केन्द्र निर्माण गरिएको हो । मन्थली र रामेछाप नगरपालिकाभित्र उत्पादन भएको तरकारी र फुलफुलको राम्रो मुल्य दिलाउनको लागि बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको साझेदारीमा चिस्यान केन्द्र निर्माणको काम अगाडि बढेको थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कसानले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई राम्रो मुल्यमा विक्री गर्ने अवस्था सृजना गर्न सिस्यान केन्द्र निर्माणको कामलाई प्राथमिकता दिएको बताए । उनले जिल्लाका किसानको कृषि उपजलाई संचिती गर्न सहज होस् भन्ने उद्देश्यले चिस्यान केन्द्र निर्माणको लागि सहयोग गरेको बताए ।

जिल्लामा उत्पादित कृषि उपजलाई संचित गरी बेसिजनमा बजारसम्म पुर्याउने उद्देश्यले रामेछापको सदरमुकाम मन्थलीमा चिस्यान केन्द्र निर्माणको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा मन्थली नगरपालिकाको समेत लगानीमा चिस्यान केन्द्र निर्माणको काम करिब सम्पन्न भएको छ । मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आएपछि जिल्लाका किसानको कृषि उपजलाई भंण्डारण गरी लामो समयसम्म सञ्चित राख्न सकिने मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत बताउँछन ।

रामेछापमा जुनार सुन्तला लगायतका अमिलो जातका फलफूल तथा आलु लगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्दछ । तर चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ ।
बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको २ करोड गरी सात करोडमा चिस्यान केन्द्र निर्माण भएको हो । चिस्यान केन्द्र निर्माण भएपछि रामेछापका साथै सिन्धुली र दोलखा जिल्लाका किसानको उत्पादन समेत संचित गर्न सकिने नगरप्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्