रामेछापकाे मन्थलीमा शल्यक्रियासहितको प्रसुति सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय



८ असार, रामेछाप ।
रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको जिल्लाको एक मात्र शल्यक्रियासहितको प्रसुति सेवा पुनः सञ्चालनमा आउने भएको छ । मन्थली नगरपालिकाले डाक्टरको अभावमा विगत एक बर्षदेखि बन्द रहेको शल्यक्रियासहितको सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
२०७२ चैतबाट सञ्चालनमा आएको सेवा एक बर्षदेखि बन्द भएको थियो । सेवा बन्द हुँँदा शल्यक्रिया गराउनु पर्ने सुत्केरीलाई राजधानी काठमाडौं लैजानु पर्ने बाँध्यता हटाउनको लागि पुनः शल्यक्रियासहितको प्रसुति सेवा सञ्चालनमा ल्याउने निर्णय गरिएको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्तेले रामेछाप न्युजलाई बताए ।

पाँच बर्षको अवधिमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा २ सय ४ जना शल्यक्रिया गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले रामेछाप न्युजलाई बताए । जिल्लामा संचालनमा आएको २४ घण्टे आकस्मिक शल्यक्रिया सहितको सेवा पुनः सञ्चालन गर्नको लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउदै फुयालले साउनबाट डाक्टर नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताए । उनले भने‘शल्यक्रियासहितको प्रसुति सेवा सञ्चालन र्गको लागि संघीय सरकारबाट ४३ लाख बजेट आएको छ, बाँकी अपुग बजेट नगरपालिकाले व्यवस्थापन गर्छ ।’

सामान्य रुपमा सुत्केरी हुन नसकेका महिलाहरुको शल्यक्रिया गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप, ओखलढुँगा, सिन्धुली र दोलखाका गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्दा राजधानी जानु पर्ने बाँध्यता रहदै आएको छ । अब मन्थलीमै सेवा सञ्चालनमा आएपछि जिल्लामै सुविधा पाइनुको साथै सुत्केरी महिलाहरुको बाटैमा ज्यान जाने खतरा पनि कम हुनेछ । सेवा सञ्चालन गर्नको लागि गाइनोक्लोजिष्ट चाहिन्छ । फु्यालले विशषेज्ञ डाक्टर भर्ना प्रक्रिया अगाडि बढाएर साउनबाटै सेवा सञ्चालन गर्ने गरी काम अगाडि बढाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्