रामेछापको ८ स्थानीय तहको बजेट ५ अर्ब ८६ करोड, कुन स्थानीय तहको कति ?



स्नेहा सिलवाल
१२ असार, काठमाडौ । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८ ०७९को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले पूर्वाधार कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट ल्याएका हुन् । आगामी आर्थिक बर्षको लागि रामेछापका आठ स्थानीय तहले ५ अर्ब ८६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेका छन् । जिल्लाको सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेटको पनि प्रस्ताव गरेपनि सार्वजनक भने गरेको छैन् । आगामी आर्थिक बर्षको लागि यस आर्थिक बर्षको भन्दा थोरै मात्र बढाएर बजेट ल्याएका छन् ।

ग्राफिक्सः विवेक श्रेष्ठ

मन्थली र खाँडादेवी गाउँपालिका बाहेकका अन्य स्थानीय तहको आन्तरिक स्रोत निकै कम रहेको छ । जसको कारण संघीय सरकार प्रदेश सरकारबाट आउने अनुदानकै आधारमा बजेट निर्माण गर्ने गरेका छन् । कोरोनाको कारण यस बर्ष तुलानात्मक रुपमा स्थानीय तहको बजेट धेरै बढाएर ल्याउन सकेनन ।

स्थानीय तहले नीति तथा कार्यक्रममा राम्रो नारा दिएपछि व्यवहारिक रुपमा कार्यान्वयनमा आउन भने किनै कठिन हुँदै आएको छ । विगतको बर्ष भन्दा खासै नयाँ कार्यक्रम आठ वटै स्थानीय तहको नीति तथा कार्यक्रममा समावेश हुन सकेको छैन् । आठ वटा स्थानीय तहले विशेष योजना निर्माण गरेर यस अघि कुनै पनि कार्यक्रम सञ्चालन गर्न चुक्दै आएका छन् । स्थानीय तहले विगत चार बर्षको अवधिमा अधिकांश बजेट सडक निर्माणमै खर्चिएका छन् ।

आगामी आर्थिक बर्षको लागि मन्थली नगरपालिकाले १ अर्ब ७ करोड ८५ लाख, रामेछाप नगरपालिकाले ६३ करोड १९ लाखको बजेट ल्याएको छ । सबै भन्दा बढी बजेट आगामी बर्षको लागि मन्थली नगरपालिकाले ल्याएको छ भने कम बजेट सुनापति गाउँपालिकाले प्रस्ताव गरेको छ ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाले ८२ करोड ७७ लाखको बजेट ल्याएको छ । यस आर्थिक बर्ष भन्दा आगामी आर्थिक बर्षको लागि प्रस्तुत भएको बजेट कम हो । यस आर्थिक बर्षमा खाँडादेवी गाउँपालिकाको बजेट ८६ करोड रुपैयाँ रहेको थियो । गाउँपालिका मध्य खाँडादेवी गाउँपालिका बढी बजेट निर्माण गर्ने स्थानीय तहमा रहेको छ ।

दोरम्बा गाउँपालिको आगामी आर्थिक बर्षको लागि ६२ करोड ८३ लाख ल्याएको छ । यस आर्थिक बर्षको भन्दा गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८ करोड बढी बजेट ल्याएको हो ।त्यसैगरी सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५१ करोडको बजेट प्रस्ताव गरेको छ । तीन करोड बढी थप्दै गाउँपालिकाले आगामी बर्षको लागि बजेट बनाएको हो ।

लिखु तामाकोसी गाउँपालिकाले यस आर्थिक बर्षमा गाउँपालिकाको खर्च हुन नसकेको बजेट सहितलाई जोडेर ९२ करोड ८५ लाखको बजेट प्रस्तुत गरेको छ । यस आर्थिक बर्षमा गाउँपालिकाले नौ महिनापछि ५९ करोड बजेट ल्याएको थियो । आगामी आर्थिक बर्षको लागि प्रस्तुत भएको बजेट पारित हुने कि नहुने अझै टुंगो लागेको छैन् ।

गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ६७ करोड २० लाख र उमाकुण्ड गाउँपालिकाले ५९ करोडको बजेट ल्याएका छन् । सबै स्थानीय तहले कृषि, पूर्वाधार, पर्यटन र रोजगारीलाई लक्षित गरेर बजेट ल्याएका छन् ।
स्थानीय सरकार सञ्चालन भएको चार बर्षको अवधिमा जिल्लाका गाउँपालिकाहरुले पनि ५० करोड बढीको बजेट निर्माण गरेका छन् । स्थानीय तहले आन्तरिक स्रोत निर्माण गर्ने पक्षमा पनि खासै ध्यान दिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्