उमाकुण्ड गाउँपालिकामा अहोरात्र संक्रमितको सेवामा डाक्टरसहित स्वास्थ्यकर्मी



१७ असार, रामेछाप ।
विश्वभर फैलिएको कोभिड–१९ बाट उमाकुण्ड गाउँपालिकामा पनि अछुतो रहन सकेको छैन् । कोरानाबाट नागरिकलाई बचाउनको लागि गत बर्षदेखि नै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा भएको स्रोत र साधन परिचालन पनि गरेको छ । कोराना संक्रमित बिरामीलाई सकभर काठमाडौं लैजान नपरोस भनेर गत बर्षदेखि नै पाँच शैयाको कोभिड अस्पताल गाउँपालिकाको केन्द्र प्रितिमा सञ्चालन हुँदै आएको छ ।
गत बर्ष कोरानाका संक्रमित अस्पतालमा खासै भर्ना नभएपनि यस बर्ष भने अस्पतालमा भर्ना हुने संक्रमितको चाप बढिरहेको छ । गाउँपालिकाले अत्यावश्यक अक्सिजन सिलिन्डर अभाव नहुने गरी व्यवस्था गरेको छ । गाउँपालिकाले पाँच शैयाको अस्प्तालमा थप १५ वटा बेड थपेर अहिले वीस शैयाको पुर्याएको छ । संक्रमितको संख्या बढेसँगै गाउँपालिकाले छोटो समयमै अस्पतालको वेड थपेको हो ।

अहोरात्र बिरामीको सेवामा डाक्टरसहित स्वास्थ्यकर्मी
गाउँपालिकामा पाँच शैयाको अस्पताल स्थापना भएसँगै उमाकुण्ड गाउँपालिकावासीको सेवा गर्न आएकी डा.पेमा देचेन गुरुङ दिनरात नभनि कोरोना संक्रमितको बिरामीको उपचारमा खटिएकी छिन् । उनीसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि । संक्रमितको सम्पर्कमा रहेर सेवा गर्न कठिन काम हो । तर पनि आफ्नो कर्तव्यबाट भाग्न त मिल्दैन, डा. गुरुङ भन्छिन । अस्पतालमा सीमित जनशक्ति छ । भएकै सीमित जनशक्तिबाट संक्रमितको उपचारमा स्वास्थ्यकर्मी खटिदै आएका छन् ।

गुरुङले रामेछाप न्युजसँग भनिन,‘संक्रमितको चाप बढदा रातभर पनि उपचारमा जुटछौ, सकेसम्म अस्पतालमै निको बनाएर घर पठाउन पाए हुन्थ्यो भनेर काम गछौं ।’संक्रमितको नियमित रुपमा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइरहनु पर्ने हुन्छ, स्वास्थ्य अवस्था विग्रने वित्तिकै अन्य अस्पतालमा पठाउनु पर्ने हुन्छ, अस्पतालबाट प्रवाह हुनेसम्मको सेवा प्रवाह गरिरहेका छौ, उनले भनिन ।

दिनरात पिपिइई लगाएर बस्नु पर्ने अवस्था रहेको बताउदै गुरुङले कोरोना संक्रमितलाई निको बनाएर घर पठाउनै खुसीको सीमा नै नरहने बताइन । ‘निकै ठूलो आशा र भरोषा लिएर संक्रमितहरु अस्पतालमा आउनुभएको हुन्छ, निको भएर घर पठाउदा रातदिन खटिएको केही होइन जस्तो लाग्छ’, उनले भन्छिन,‘सकेसम्म हामीले भर्ना भएका संक्रमितलाई निको बनाएर घर पठाउछौ, अलि जटिल समस्या देखिएका बिरामीलाई भने तत्काल अन्य अस्पतालमा रिफर गछौं ।’

आफूहरुले रातदिन खटेर संक्रमित निको बनाउन सक्दा मन प्रफुल्ल हुने बताउदै डा. गुरुङले उमाकुण्ड गाउँपालिवासीको सेवा गर्न पाएकोमा निकै खुसी रहेको बताइन । काठमाडौं बौद्ध घर भएकी गुरुङ भन्छिन,‘सेवा सुविधा अलि धैरै रोजेको भए काठमाडौंमै हुन्थे होला, अहिले उमाकुण्ड गाउँपालिकावासीको सेवा गर्दा मलाई सेवा सुविधा भन्दा पनि ठूलो मन आनन्द भएको छ ।

संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सतप्रतिशत भक्ता
उमाकुण्ड गाउँपालिकाले कोभिडका बिरामीको उपचारमा खटिनै स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनमा खटिने कर्मचारीलाई सतप्रतिशत भत्ता दिने निर्णय गरेको छ । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाभित्र सञ्चालित अस्पतालबाटै संक्रमित नागरिकहरुको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय गरेको बताउँछन ।

‘संकटको बेला स्वास्थ्यकर्मीहरुले जोखिम मोलेरै सेवा दिइरहनुभएको छ, हामीले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन जोखिम भत्ताको व्यवस्था गरेका छौ’, उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको अस्पतालको टिमबाट प्रभाव भइरहेको सेवा प्रशसनिय छ ।’

स्रोत साधन जुटाउन लागि परेका छौःपैकरा
स्वास्थ्य शाखाका प्रमुख समेत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले गाउँपालिकाभित्र सञ्चालित अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन लागि परेको बताउछन । उनले हाल अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरदेखि अन्य स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरेको बताउदै अस्पतालको लागि आवश्यक जनशक्ति पनि थप्ने विषयमा गृहकार्य गरिरहेको बताए ।

गाउँपालिकामा अस्पताल भएकै कारण अहिले कोरोना संक्रमितले सेवा लिन पाएका छन, सकेसम्म अस्पतालबाट निको बनाएर संक्रमितलाई घर पठाउने नीति लिएका छौ, उनले भने । हल प्रितिमा सञ्चालित अस्पतालमा डाक्टरसहित दस जना स्वास्थ्यकर्मी कार्यरत छन् ।  पैकराका अनुसार हाल कोभिड अस्पतालमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्