रामेछापमा एमालेले क्रियाशिल सदस्यको संख्या १० हजार पुर्याउने
२० असार, रामेछाप ।
नेकपा एमाले रामेछापले जिल्लाभित्र क्रियाशिल सदस्यको संख्या दस हजार पुर्याउने भएको छ । क्रियाशिल सदस्यता नविकरण गर्नको लागि जिल्ला कमिटी रामेछापले दुई वटा गाउँ कमिटी र ६ वटा गाउँ कमिटीमा नविकरण फारम पठाएको हो । यसअघि रामेछापमा एमालेको क्रियाशिल सदस्यको संख्या करिब सात हजार भन्दा बढी रहेको थियो ।
नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले जिल्लाका पालिका र गाउँ कमिटीलाई सदस्यता नविकरण गर्नको लागि फाराम पठाइसकेको रामेछाप न्युजलाई बताए । तत्कालिन नेकपा हुँदा एमालेको तर्फबाट दस हजार जनाको नामावली क्रियाशिल सदस्यताको लागि प्राप्त भएको थियो, सोही आधारमा अहिले नविकरणको लागि पठाएको छौ, उनले भने ।
सचिव कडरियाका अनुसार यही असार मसान्तभित्र नगर र गाउँ कमिटीबाट क्रियाशिल सदस्यहरुको नामावली प्राप्त हुनेछ । उनले रामेछाप न्युजसँग भने,‘दस हजार भन्दा बढी क्रियाशिल सदस्य थप्ने पक्षमा छैनौ, अहिले नविकरणको कामलाई प्राथमिकता दिएका छौं ।’ आज सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनाउने निर्णय गरेको छ ।
