लिखु तामाकोसी गाउँपालिका स्थित खिम्तीको अस्पताल जोगियो



२३ असार, काठमाडौं ।
लिखु तामाकोसी गाउँपालिका–७ खिम्तीमा सञ्चालनमा आएको पाँच शैयाको कोभिड अस्पताल स्तान्तरण हुनबाट जोगिएको छ । गाउँपालिकाको केन्द्र नजिकै नागीमा १५ शैयाको अस्पताल हुने निर्णय भएसँगै खिम्ती प्राथमिक स्वास्थ्य चौकी पनि स्तान्तरण हुने चर्चा चलेपनि अन्नतः संघीय सरकारले खिम्तीको अस्पताललाई निरन्तरणता दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई यथावत रुपमै सञ्चालन गर्ने निर्णय गर्दै गाउँपालिकाको केन्द्रमा अस्पताल निर्माण गर्न बजेट उपलब्ध गराएको छ । गाउँपालिकाले वडा नम्बर ४ नागीमा अस्पताल निर्माण गर्ने यसअघि निर्णय गरिसकेको छ ।


संघीय सरकारले हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीति अन्तर्गत गाउँपालिकाको खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल निर्माण गर्न बजेट विनियोजन गरेको थियो । उक्त विषयलाई लिएर राजनीतिक दल विभाजित भएका थिए ।
गाउँपालिकाको केन्द्रमा निर्माण हुने अस्पताललाई बजेटको सुनिश्चितता गर्दै अर्थ मन्त्रालयले खिम्तीको प्राथमिक स्वास्थ्य केन्द्रलाई यथावत राख्ने निर्णय गरेसँगै खिम्तीवासी खुसी भएका छन् ।

खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रलाई यथावत राख्नको लागि नेकपा एमालेका नेता रत्न गौतम र एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले भूमिका निर्वाह गरेका थिए । गाउँपालिकामा निर्माण हुने अस्पतालको विषयमा कुनै विवाद नै नहुँदा पनि अनावश्यक रुपमा राजनीतिक गर्ने प्रयास भएपनि ती प्रयास असफल भएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताए ।

‘गाउँपालिकाको केन्द्रमा अस्पताल निर्माण गर्नुपर्छ भन्ने विषयमा हाम्रो कुनै असहमति थिएन, वीस बर्षदेखि सञ्चालन हुँदै आएको हालको कोभिड अस्पताल पनि कायमै रहोस भन्ने हाम्रो मान्यता हो’, उनले भने,‘गाउँपालिकाभित्रका सबै नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्छ ।’ हाल खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैयाको कोभिड अस्पतालको रुपमा स्थापना गरेर कोभिडका बिरामीहरुको उपचार भइरहेको छ । त्यसैगरी अर्थ मन्त्रालयले १५ शैयाको अस्पताल निर्माण गर्नको लागि ३ करोड ७० लाख रुपैयाँ गाउँपालिकालाई पठाइसकेको छ । अस्पताल निर्माणको विषयमा अब कुनै पनि विवाद नरहेको बताउदै गाउँपालिकाको केन्द्रमा निर्माण हुने अस्पतालले पनि अब गति लिने सचिव कडरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्