रामेछापमा प्रहरीलाई देखाउन मात्र मास्क,‍‍ …..नत्र खल्तीमा



२५ असार, रामेछाप ।
रामेछाप जिल्लाभित्र कोरोना संक्रमणको जोखिम कायमै रहेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र औपचारिक रुपमा लकडाउन कायमै राखेपछि बजार र यातायात पुरानै अवस्थामा सञ्चालन भइरहेका छन् । लकडाउन खुकुलो बनाएसँगै रामेछापको सदरमुकाम मन्थलीमा केही नागरिकहरु मास्क विना नै बजार क्षेत्रमा हिडडुल गर्न थालेका छन् । मन्थली आसपासका क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गर्ने भन्दा पनि उल्लंघन गर्ने क्रम बढेपछि प्रहरी हैरान भएको छ ।

सम्भावित कोरोना संक्रमणको जोखिमबाट बचाउनको लागि प्रहरीले पुनः तपाईको मास्क खै ? अभियान सञ्चालन गरेको छ । बजार क्षेत्रमा आउने नागरिकहरुले प्रहरी देख्दा मात्र मास्क लगाउने र प्रहरीलाई नदेख्दा खल्तीमा हालेर हिडने क्रम बढेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएपनि नागरिकहरुले आफ्नो दायित्व विर्सदै जान थालेपछि प्रहरीले बजार क्षेत्रमा अनिवार्य रुपमा मास्क लगाएर हिडन आग्रह गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जिल्लाभित्र कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने जनचेतनामूकल कार्यक्रम सञ्चालन गदै मास्क समेत वितरण गरिदै आएको रामेछाप न्युजलाई बताए । उनका अनुसार लकडाउन केही खुकुलो भएसँगै होटेल,पसल र सार्बजनिक स्थानहरुमा लापरबाही बढेको छ । प्रहरीले कोरोना संक्रमणबाट आफूलाई बचाउन मास्कको प्रयोग गर्नुको अर्को विकल्प नभएको बताउदै प्रहरीको लागि भन्दा पनि आफ्नो सुरक्षाको लागि मास्क लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्