रामेछापमा यात्रुसँग दोब्बर भाडा लिने चालकलाई ठाउँको ठाउँ कारवाही



२६ असार, रामेछाप ।
रामेछापमा लकडाउनको अवधिमा तोकिए भन्दा दोब्बर भाडा लिएर गाडी चलाउने चालकलाई प्रहरीले ठाउँको ठाउँ कारवाही गरेको छ । काठमाडौं देखि मन्थलीसम्म यात्रु लिएर आएको बा ५ ख २९५को बसका चालकलाई प्रहरीले कारवाही गरेको हो । बढी भाडा लिएको सूचनाको आधारमा प्रहरी उक्त गाडीका चालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरी समक्ष गाडीका चालक दिपक बुढाथोकीले बढी भाडा लिएको स्वीकार गरेपछि यात्रुलाई बढी भाडा फिर्ता गराइएको जिल्ला प्रहरी रामेछापका डिएसपी नवराज ढुंगानाले रामेछाप न्युजलाई बताए ।

काठमाडौंबाट मन्थली आएका आठ जना यात्रुसँग चालक बुढाथोकीले पाँच यस बढी भाडा लिएका थिए । आठ जना यात्रुलाई चालकले चार हजार रुपैयाँ फिर्ता गराएसँगै अहिले बस प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । डिएससी ढुंगानाले बढी भाडा लिने बस चालकलाई ट्राफिक कार्यालयले पनि जरिवाना गरेको बताए । लकडाउनको अवधिमा विभिन्न बहाना बनाएर यात्रुसँग दोब्बर भाडा लिने गुनासो आएकाले प्रहरीले सार्वजनिक सवारी साधनमाथि निगरानी बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्