मन्थली नगरपालिकालाई सुरक्षित बनाउन थप सिसी क्यामेरा जडान गर्ने निर्णय



५ साउन, रामेछाप ।
मन्थली नगरपालिकाले नगरलाई थप सुरक्षित बनाउन सिसी क्यामेराको संख्या बढाउने निर्णय गरेको छ । नगर सभाले मन्थली बजार र सेलेघाट नाकामा सिसी क्यामेराको संख्या थप्ने निर्णय गरेको हो । रामेछापको सदरमुकाम समेत रहेको मन्थली बजार क्षेत्रमा हुन सक्ने सम्भावित अपराधको घटना सकेससम्म हुन नदिन सिसी क्यामेरा मार्फत निगरानी बढाइएको छ ।

हाल मन्थली बजारसहित विभिन्न क्षेत्रमा जडान गरिएको सिसी क्यामेरा जिल्ला प्रहरी कार्यालय रामेछापले सुपरभिजन गर्दै आएको छ । मन्थली बजार क्षेत्रमा बिजुली नहुँदा सोलारबाट पनि सञ्चालन हुने सिसी क्यामेरा समेत जडान गरिएको छ । सिसी क्यामेरा जडान भएपछि अपराधिक गतिविधिमा समेत कमी आएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

हाल मन्थली नगरपालिकाभित्र जडान भएका सिसी टिभीले प्रभावकारी रुपमा काम गरिरहेको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले बताए । बढी भिडभाड हुन ठाउँ, मुख्य चोक चोकमा सिसी क्यामेरा जडान गरिएको बताउदै उनले केही समयपछि नै सेलेघाट नाकामा तीन वटा सिसी क्यामेरा राख्न लागिएको रामेछाप न्युजलाई बताए । वस्नेतले भने,‘नगरलाई थप सुरक्षित बनाउन प्रविधिको प्रयोगलाई बढाएका छौ ।’

मन्थली बजार क्षेत्र सहित विभिन्न वस्तीमाको गतिविधि २४ सैं घण्टा सिसि क्यामेरा मार्फत निगरानी भइरहेको छ । सुरुको चरणमा बजारलाई सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको योजना र उद्योग वाणिज्य संघ रामेछापको नेतृत्वमा मन्थलीको भैसेश्वरदेखि बसपार्कसम्म १६ वटा क्यामेरा जडान गरिएको थियो । त्यसैगरी पछिल्लो समयमा मन्थली नगरपालिकाले सिसी क्यामेराको संख्या बढाउदै लगेको छ ।

सिसि क्यामेरा जडान भएपछि बजार क्षेत्रको सुरक्षामा थप सहज भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए । हाल मन्थली नगरपालिकाभित्र ३४ वटा सिसी क्यामेरा सञ्चालनमा रहेको छ । नगरपालिकाले सिसी क्यामेराको प्रयोगलाई बढाउदै लैजाने नीति लिएको छ । नगर प्रमुख बस्नेतले नगरभित्र यस आर्थिक बर्षमा हाल रहेको संख्यामा थप गर्दै पचास वटा पुर्याउनको लागि बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्