बिजुली जादा रामेछापवासी हैरान, किन जान्छ झ्याप-झ्याप बिजुली ?



५ साउन, रामेछाप ।
रामेछाप जिल्लामा पछिल्लो समयमा विद्युत झ्याप झ्याप जाने दैनिकी नै भइसकेको छ । विद्युत प्राधिकरण रामेछापले विद्युत कटौतीको पूर्व सूचना जारी गरेको पनि छैन् । तर विद्युत दैनिक रुपमा जाने क्रम पनि रोकिएको छैन् । पाँच/पाँच मिनेटको अवधिमा विद्युत जाने/आउने हुँदा रामेछापवासी हैरान भएका छन् । मन्थली बजार क्षेत्रमा केही दिनयता विद्युत नियमित हुन सकिरहेको छैन् । विद्युत सहज रुपमा आपूर्ति नहुँदा बजारवासी आक्रोशित भएका छन् ।

विद्युत जाने विषयमा प्राविधिकरण रामेछाप उपभाक्तालाई कुनै पनि पूर्व सूचना पनि जारी गरेको छैन् । प्राधिकरणले वदमासी गरेको भन्दै उजुरी रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू समक्ष पुगिसकेको छ । लकडाउनको कारण बजार क्षेत्रमा अधिकाशं बालबालिका अर्चुअल माध्यमबाटै पठनपाठन गर्दै आएका छन् । लोडसेडिङ नहुँदा पनि बारम्बार बिजुली जाने समस्याको कारण मन्थली लगायत रामेछापका अधिकाशं क्षेत्रको दैनिक जनजीव नै प्रभावित बन्न पुगेको छ ।

मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका विजय श्रेष्ठ प्राधिकरणको विरुद्ध अब आन्दोलन गर्न मात्र बाँकी रहेको बताउन । उनले भने,‘लोडसेडिङ छैन, तर अघोषित रुपमा अहिले हामीले लोडसेडिङकै सामाना गरिरहेका छौं, नियमित रुपमा बिजुली नआउदा व्यवसाय नै चौपट हुने अवस्था आएको छ ।’

नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले पनि विद्युत प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै आन्दोलनमै उत्रिन पर्ने हो भन्ने प्रश्न गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठले अब त अति नै भएको भन्दै फेसबुक पेजमा प्राविधिकरणको विरुद्ध आन्दोलन गर्नुपर्ने विषय उल्लेख गरेका छन् ।

त्यसैगरी रामेछापका सहयोगी मन (रासम)का अभियन्ता जय मानन्धरले पनि विद्युत बारम्बार जान थालेपछि मैन बत्ति खोज्नु पर्ने परिस्थिति सृजना भएको भन्दै प्राविधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गल्ती भएकै छ, सुधार गछौः दाहाल
नेपाल विद्युत प्राधिकरण रामेछाप शाखाका प्रमुख कृष्णहरि दाहालले सब स्टेसनको हेडको केबल जलेको कारण फेर्न समय लागेको बताए । उनले उपभोक्तालाई पूर्व सूचना नदिन गल्ती भएको स्वीकार गर्दै अब सुधार गर्ने पक्षमा आफूहरु लागेको बताए । उनले भने,‘सब स्टेसनमा समस्या आउदा छोटो समयमा हुने भनिएको मर्मत गर्न धेरै समय लाग्यो, अब झ्याप झ्याप विजुली जान नदिन काम गरिरहेका छौं । आज दिउसोबाट झ्याप झ्याप बिजुली जाने समस्या समाधान हुँदै गएको दाहालले दावी गरे । तर मन्थली सहित रामेछापका अधिकाशं क्षेत्रमा झ्याप झ्याप बिजुली जाने समस्या विगत लामो समयदेखि हुँदै आएपछि सुधार गर्नतर्फ प्राधिकरणको ध्यान जान सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्